अत्तरिया : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसी र सरकारी प्रतिनिधिबीच काठमाडौँमा वार्ता सुरु भएको छ। विगत सात दिनदेखि कैलालीको धनगढीमा अनशन बसिरहेका डा। केसीका प्रतितिनिधि र सरकारी वार्ता टोलीबीच आइतबार सिंहदरबारमा वार्ता भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
डा. केसी स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालको तत्कालको दरबन्दी हालको बेड संख्याअनुसार बढाइनुपर्ने लगायतका माग राखेर विगत सात दिनदेखि अनशनमा बसेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद रिजालको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य छन्। केसीका तर्फबाट डा। जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा। लिजन महर्जन र सुवेदी सदस्य वार्तामा सहभागी छन्।
डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरस्थित धर्मशालामा सत्याग्रह सुरु गरेका छन्। स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ।
यस्ता छन् डा. केसीका माग
डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालको तत्कालको दरबन्दी हालको बेड संख्या अनुसार बढाइनु पर्ने माग गरेका छन्। जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नु पर्ने उनको माग छ।
संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण, एक्सरेलगायत आधारभूत सेवाका लागि शुल्क लिन निषेध गरिनु पर्ने, सरकारले तोकेको सूची अनुसारको सबै औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नु पर्ने केसीको माग छ। यसैगरी, स्थानीय तहको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरिनु पर्ने, देशभर दीगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीको नियुक्ति गरिनु पर्ने माग राखिएको छ।
सरकारी स्वास्थ्य संस्था वरिपरी मापदण्ड नपुर्याइ खुलेका र जोखिमपूर्ण सेवा दिइरहेका संस्थालाई कारबाही गरिनु पर्ने माग केसीको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गरिनु पर्ने उनको माग छ। आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने, विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरिनु पर्ने लगायतका माग राख्दै डा। केसीले सत्याग्रहमा छन्।