
अत्तरिया : नेपाली काङ्ग्रेस कैलालीले यही भदौ ३०, ३१ र असोज १ परेको वर्षाका कारण प्रभावित बनेका परिवारलाई उचित राहत तथा र पुनर्स्थापनाको व्यवस्था मिलाउन माग गरेको छ । जिल्लाका विभिन्न स्थानमा गरी एक हजार पाँच सय बढी परिवार प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काङ्ग्रेस कैलालीले विज्ञप्ति जारी गरेर तीन वटै तहका सरकार सँग यस्तो माग गरेको हो ।
प्राकृतिक विपदमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली दिँदै काङ्ग्रेस कैलालीले प्रभावित भएका व्यक्ति र परिवारको उद्धार, राहत, बसोबास र पुनर्स्थापनाको कार्यमा खटिन काँग्रेस कैलालीका सम्पूर्ण इकाईहरू, भातृ तथा शुभेच्छुक सङ्घसंस्था, क्रियाशील सदस्यहरूलाई आह्वान समेत गरेको छ ।
प्राकृतिक विपदबाट प्रभावित तथा विस्थापित भएकाहरूलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउन र उनीहरूलाई उचित राहत सामग्री उपलब्ध गराउँदै पुनर्स्थापनाको यथोचित व्यवस्था मिलाउन नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र कैलालीका सबै स्थानीय सरकारहरूसँग गरिएको छ । नदी कटान र डुबानका कारण भएको धनमालको यथाशीघ्र यथार्थ विवरण सङ्कलन गरी उचित क्षतिपूर्ति दिन पनि तीनै तहका सर कारहरूसँग माग गरिएको छ ।
‘कैलाली सहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति पीडितहरूको पीडामा संवेदना व्यक्त गर्दै नेपाल सरकार तथा प्रदेश सरकारलाई बेपत्ताहरूको खोजी कार्य प्रभावकारी बनाउन र पीडितहरूलाई यथाशीघ्र उचित राहत तथा क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था मिलाउन नेपाली काँग्रेस कैलाली जोडदार माग गर्दछ’ काङ्ग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
