अत्तरिया : आँखा शिविरमा चार सय जनाले सेवा प्रदान गरेका छन् । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र लम्कीचुहा नगरपालिका वार्ड नं. ७ को आयोजना तेज कोहली रुईत फाउण्डेशनको सहयोगमा शिविर सम्पन्न भएको हो ।
लम्कीचुहा नगर पालिका वार्ड नं. ७ स्थित बाल सेवा मावि चाकावाडीमा संचालित आँखा शिविरमा ४०७ जनाले आँखा उपचार सेवा लिएका छन् जसमध्ये ६० जनालाई मोतिविन्दु लगायत आँखाको अप्रेशनको लागि गेटा आँखा अस्पताल टीकापुरमा पठाईएको, १०८ जनालाई निःशुल्क चश्मा उपलब्ध गराईएको तथा २३९ जनाको निःशुल्क औषधि उपचार गरि सम्पन्न भएको छ । कोरोनाको संक्रमणको जोखिमको कारणले लामो समय देखि उक्त क्षेत्रमा शिविर संचालन गर्न नसकिएकोले सेवा लिने मध्ये आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु धेरै भेटिएका थिए ।
गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टको नेतृत्वमा संचालित शिविरमा ११ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए । उक्त शिविरमा लम्की चुहा नगरपालिका वार्ड नं ७ का पदाधिकारीहरु महिला स्वास्थ्यस्वयं सेविकाहरुले व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
सुदूरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस अन्तरगत प्रदेशका ९ वटै जिल्लामा संचालित २१ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै सेवा पुर्याई रहेको छ ।