अत्तरिया : नेतालाई एक क्षेत्रबाट सिफारिस हुन सकस भइरहेका बेला प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको नाम पाँच जिल्लाबाट सिफारिस भयो । डडेल्धुराबाट समानुपातिक सिफारिसमा परेकी आरजु कैलाली ५, बर्दिया २, बाँके ३ र बागलुङ २ बाट प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस भएकी थिइन् ।
३ प्रदेशका पाँच जिल्लाबाट सिफारिस भएपनि धेरैले आरजुको रोजाइमा यस पटक पनि कैलाली ५ नै पर्ने अनुमान गरेका थिए । तर, अन्तिम समयमा भने उनी समानुपातिक बस्न राजी भएको कुरा वाहिर आएको छ ।
अघिल्लो पटक बाम गठबन्धनबाट उम्मेदवार नारदमुनि रानासँग प्रत्यक्ष निर्वाचनमा होमिएकी राणा ५ हजार बढी मतले पराजित भएकी थिइन् । प्रतिनिधि सभामा आरजु राणाको मात्रै नाम सिफारिस भएको हुँदा उनको विकल्पमा सिफारिस नभएका व्यक्तिले टिकट पाउने छन् । यस्तो अवस्थामा धेरैले पुष्कर नाथ ओझाले टिकट पाउने आकलन गरेका छन् । अघिल्लो पटक आरजुलाई हराउन भूमिका खेलेको भन्दै सदस्य समेत नरहने गरि कारबाहीमा परेका ओझाले टिकट नपाउने सम्भावना नरहेको काङ्ग्रेसकै नेताहरू बताउँछन् ।
‘आरजु पछि उहाँले टिकट पाउँछन् भन्ने धेरै छन् । तर त्यो सम्भावना छैन भन्दा पनि हुन्छ’ उनले भने ‘यहाँ कांग्रेस प्रदेश महामन्त्री नरनारायण शाह मनु र सुनिल भण्डारीको सम्भावना बढेको छ ।’ प्रदेश महामन्त्री शाह कैलालीमा दुई पटक सम्म जिल्ला सभापति भइसकेका छन् । यस पटक प्रदेश सभा तर्फ प्रत्यक्ष र प्रतिनिधि सभा तर्फ समानुपातिक सिफारिस भएका शाह आरजुको विकल्प हुन सक्ने कांग्रेस नेताहरू बताउँछन् ।
त्यस्तै भण्डारीलाई पनि उम्मेदवार बनाउन सक्ने धेरैको आकलन छ । भण्डारी अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका उम्मेदवार लेखराज भट्ट सँग १० हजार ३ सय ९९ मतान्तरले पराजित भएका थिए । अहिले पनि उनको नाम कैलाली ४ बाट सिफारिस भएको छ ।उनी सहित नैन सिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा।लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो । तर, कैलाली ४ नेपाली कांग्रेसले पाउँदा वीर बहादुर बलायरलाई लडाउने विषयमा पनि छलफल भइरहेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ । बलायर कांग्रेस प्रदेश सभापति हुन् ।
कैलालीका ५ मा आरजुको विकल्पमा हाल प्रदेश सभा सदस्य रहेका डिल्लीराज पन्त पनि उम्मेदवार बन्न सक्ने बताइएको छ । कांग्रेस कैलालीका सचिव केशव मिश्र भने आरजु राणा देउवा समानुपातिक मा रहेको कुरा आधिकारिक जानकारी नआएको भन्दै यदि त्यस्तो भएका प्रतिनिधि सभाका लागि आकांक्षीहरु धेरै हुन सक्ने बताउँछन् । अहिले आरजु राणा देउवाको नाम समानुपातिकमा सिफारिस भए लगत्तै उनको क्षेत्रका प्रत्यक्ष तर्फको उम्मेदवारको चर्चा भइरहेको बेला १६ गते पछि फेरी उनी प्रत्यक्षमा आउन सक्ने केही नेताहरू दाबी गर्छन् ।