धनगढी, ४ असोज : युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धा राजनीतिक दलका चुनावी एजेण्डा बनाउन माग गरेको छ । ब्लु डायमण्ड सोसाईटीले धनगढीमा स्थानीय राजनीतिक दलहरुसंग गरेको छलफलमा यस्तो माग गरेको हो । आसन्न मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेका राजनीतिक दलहरुसंग सोसाईटीले यस्तो माग गरेका हो । ‘राजनीतिक दलहरु चुनावी घोषणा पत्रको गृहकार्यमै रहेका छन्’ ब्लु डायमण्ड सोसाईटीको कार्यक्रम व्यवस्थापक भूमिका श्रेष्ठले भनिन् । ‘समुदायमा युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुप्रति हेर्ने नजर अझ सुधार भएको छैन । त्यसका लागि राजनीतिक दलको भूमिका नै महत्वपूर्ण हुनेछ ।’ ब्लू डायमण्ड सोसाईटीका मुद्धाहरु राजनीतिक दलहरु सम्बोधन गर्नुपर्ने उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेकी छन् उनले प्रस्तुत गरेको कार्यपत्रमा युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु सक्षम हुँदा हुँदै पनि अवसर नपाएको उल्लेख गरिन् । विद्यालयमा समेत हेर्ने नजर अझै सुधार नभएको उनले बताईन् । अव दलहरुले पनि निर्वाचनमा आफ्नो समुदायको मुद्धाहरु पनि चुनावी एजेण्डा बनाउनुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा सहभागि राजनीतिक दलहरुले आफ्नो तर्फबाट युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धामा संवेदनशिल रहेको प्रतिबद्धता जाहेर गरे । नेपाली काँग्रेसका युवा नेता तपेन्द्र भुषालले आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको बताउँदै पार्टीका विभिन्न निकायमा युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई राख्न पहल गर्ने बताए । ‘काँग्रेस यौनिङ तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धामा संवेदनशिल छ’, उनले भने । ‘पार्टीका घोषणापत्रमा पनि समावेश हुन्छ ।’ यस्तै नेकपा माओवादी केन्द्र कैलालीका नेता रमेश धामीले पनि युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धामा आफ्नो पार्टी गम्भीर ढंगले अगाडि बढेको बताए । ‘माओवादी केन्द्र युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धामा हिजो पनि संवेदनशिल थियो । अहिले पनि छ’ उनले भने ।
कार्यक्रममा एकीकृत समाजवादी कैलालीका नेता दिनेश चन्द सुवेदीले युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धामा प्रतिबद्धता व्यक्त गरे । ‘पार्टीमा चुनावी घोषणा पत्र बन्नेक्रम जारी नै रहेको छ’, उनले भने । ‘यहाँहरुको मुद्धाहरु पनि समावेशका लागि दबाब दिनेछु ।’ कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी र यौनिङ तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुको सभागिता रहेको थियो ।