डा. गोविन्द केसीलाई काठमाडौँ लैजान चिकित्सक फकाउदैँ

अत्तरिया, ५ असोज : विगत १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसीलाई उपचारका लागि काठमाडौँ लैजान सेती प्रादेशिक अस्पतालका चिकित्सकहरु उनलाई मनाउन सक्रिय भएका छन् ।

गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले प्रादेशिक अस्पताल प्रशासनलाई केसीलाई मनाइदिन आग्रह गरेपछि उनीहरु बिहानैदेखि फकाउन व्यस्त छन् । ‘डाक्टर साबहरुसँग उहाँलाई काठमाडौँ लैजाने वातावरण बनाउन भूमिका खेलिदिन आग्रह गरेका छौँ,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने, ‘उहाँको स्वास्थ्य गम्भीरतालाई ध्यानमा राखेर लैजान खोजिएको हो । अहिले डाक्टर साबहरु मनाउन लागिरहनुभएको छ ।’

मंगलबार डाक्टर केसीलाई लैजान नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेपनि जान नमानेपछि रित्तै काठमाडौँ फर्किएको थियो । सेती प्रादेशिक अस्पतालले केसीलाई केसी खालको अल्सरको लक्षण देखिएको भन्दै टिचिङ अस्पतालका लागि रेफर गरिसकेको छ तर डाक्टर केसीले आफ्नो अवस्था समान्य रहेको भन्दै जान मानिरहेका छैनन् ।

१० दिनदेखि आमरण अनसनरत केसीको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ तर उनले औषधी प्रयोग गर्न समेत अस्वीकार गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.