अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकाको नव निर्मित प्रशासकीय निर्माण कार्य सम्पन्न भएको छ । भवन नगरपालिकाले भिओ गर्न नसक्दा हस्तान्तरणमा ढिलाइ भएको छ । २ वर्ष अघिदेखी निर्माण सुरु भएको नगरपालिकाको नयाँ भवन निर्माणको काम सकिएपनि भिओ नहुँदा हस्तान्तरण हुन सकेको छैन् । सम्झौता अनुसार नगरपालिकाको भवन निर्माण कार्य २०७८ पुषमै सकिनुपर्ने भएपनि ठेकेदार कम्पनीले ढिला गरी भवन निर्माण सम्पन्न गरेको हो ।
भवनको निर्माणको कार्य सकिएपनि नगरपालिकालाई हस्तान्तरण भने नभएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले बताए । ठेकेदार कम्पनीलाई यही मंसिर मसान्त भित्र भवन हस्तान्तरण गर्ने गरी म्याद दिईएको बताए ।
नगपालिकाका साईट ईन्चार्ज प्रदिप धामीले प्राविधिक गडबडीका कारण भवन हस्तान्तरणमा ढिलाई भएको बताए । उनले सम्झौता अनुसारको समयावधीमा काम सम्पन्न नहुँदा नगरपालिकाले समयावधी थप गरेको बताए । निर्माण कम्पनिका ठेकेदार सुरेन्द्रकान्त पन्तका अनुसार कम्पनीका तर्फबाट लगभग पुरै काम सकिईसकेको छ । केही छिटपुट बाहेक भवन निर्माणको सम्पुर्ण काम सम्पन्न भैसकेको निर्माण कम्पनिका ठेकेदार सुरेन्द्रकान्तको भनाइ छ ।
पन्तले यसअघिको अवधी पनि भिओ नहुदा नै थप गर्नुपरेको बताए । उनले बाँकी रहेको काम पनि नगरपालिकाको अर्को ठेक्काका कारण ढिलाई भैरहेको बताए । उनले नगरपालिकाले भिओ गरेपश्चात नै नयाँ भवन नगरपालिकालाई हस्तान्तरण गरिने बताए । नगरपालिकाले २०७७ साल जेठ २५ गते धनगढीको शनीदेव उच्चकोटी जेभिसँग २०७८ पुष १० गते सम्पन्न गरिसक्ने गरी ५ करोड १२ लाख २ हजार ३ सय १५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि नगरपालिकाले २०७९ मंसिर मसान्त सम्म भवन निर्माण सक्ने भन्दै म्याद थप गरेको छ ।