धनगढी, ६ असोज : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धामा स्थानीय तह गम्भीर नभएको गुनासो गरिएको छ । धनगढीमा बिहिबार सञ्चारकर्मीहरुसंग भएको छलफलमा यस्तो गुनासो गरेको हो । ब्लु डायमण्ड सोसाईटीको आयोजनामा सञ्चारकर्मीहरुसंग गरेको छलफलमा स्थानीय सरकारसंग आग्रह गर्दा पनि वेवास्ता गर्ने गरेको उनीहरुको आरोप छ ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु पनि सम्बोधन गर्नुपर्छ भनेर स्थानीय सरकारसंग आग्रह गरेका हो’ सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले भने । ‘तर, पनि वेवास्ता हुने गरेको छ ।’ कैलालीका १३ वटा स्थानीय तह मध्ये ४ वटाले मात्र आफ्नो सुमदायलाई नीति तथा कार्यक्रममा समाबेश गरेको देखिएको उनले छलफलमा प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेको छ । ‘थोरै भए पनि कैलालीका कैलारी, भजनी, टीकापुर र सुखडले मात्र सम्बोधन गरेको देखिन्छ’, उनले भने । ‘अन्य स्थानीय तहलाई आफुहरुले अनुरोध गर्दा पनि वेवास्ता गरेको देखियो ।’
कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी कार्यक्रम व्यवस्थापक भूमिका श्रेष्ठले सामाजिक संस्कार, रहनसहन तथा राज्यको नीतिका कारण पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु खुल्न नसकको बताइन् । ‘समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकहरु धेरै रहेका छन्’, उनले भनिन् । ‘तर, सामाजिक रहनसहनले गर्दा पनि खुलेर आउन सकेको अवस्था छैन् ।’
अधिकार सुनिश्चितताका लागि समाजमा धेरै सघर्ष गर्नुपरेको उनले बताईन् । नागरिकता लिदा देखि निर्वाचनमा भाग लिदा सम्म आफ्नो समुदायलाई सहज नभएको उनले बताईन् । राजनीतिक दलहरुले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु वेवास्ता गर्ने गरेको उनको भनाई रहेको छ । कार्यक्रममा विभिन्न सञ्चारमाध्याममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।