Agni Offset Press

सुदूरपश्चिमका व्यवसायीले घोषणा गरे सरकारविरुद्ध आन्दोलनको चेतावनी

Aarati simant

धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरु आन्दोलनको चेतावनी दिएका छन्। सरकारले जारी गरेको नयाँ मौद्रिक नीति, वाणिज्य कार्यालयको अनुगमन, धनगढी उपमहानगरपालिकाले प्लास्टिकजन्य बस्तुमा गरेको निषेध लगायतका विषयमा आपत्ति जनाउँदै व्यवसायीहरुले आन्दोलन घोषणा गरेका हुन्।

बिहीबार धनगढीमा नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट उपाध्यक्ष रामचन्द्र संघाईको उपस्थितिमा सरोकारवालाहरुसँगको बैठक (अन्तर्क्रिया कार्यक्रम) बाट प्रदेशका व्यवसायीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने घोषणा गरेका हुन्।
उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले सरकारले व्यवसायीलाई विस्थापन गर्नेगरी विभिन्न निर्णय गर्दै आएकोले त्यसका विरुद्ध व्यवसायीहरु एक भएर चरणबद्ध आन्दोलन गर्ने निष्कर्षमा पुगेको बताए। उनले सरकारको निर्णयका कारण साना तथा मझौला व्यवसायीहरु बढी मारमा परिरहेको बताए।

सरकारले ल्याएको मौद्रिक नीतिले व्यवसायीहरु ब्याज तिर्न मारमा पर्ने उनको भनाइ छ। महासंघका एशोसियट उपाध्यक्ष संघाईले सरकारको अहिलेको कदमबाट बैंकहरुले ब्याजदर कम गर्ने भन्दा पनि थप बढाउने देखिएको बताए। ‘अझै ब्याज दर बढ्ने संकेत देखिएको छ,’ उनले भने,‘व्यवसायमा एकता भएन र आन्दोलन गर्ने सक्षमता भएन भने अझै सरकारको नीति कडा बन्ने देखिन्छ।’

सरकार र निजी व्यवसायीबिच भएको भद्र सहमति विपरीत सरकारले ब्याज वृद्धि गरेको संघाईको भनाइ छ। कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दीनेश भण्डारीले बैंकले बढाएको ब्याजदर व्यवसायीहरुको पक्षमा नरहेको बताए। ‘कोभिड महामारीपछि व्यवसायी त्यसै घाटामा गएका छन्। यस्तो समयमा सरकारले व्यवसायीलाई सहुलियत हुने कार्यक्रम ल्याउनुपर्ने थियो,’ उनले भने,‘तर सरकारको निर्णयहरुले व्यवसायीमाथि थप कडाइ गरिरहेको छ।’

सरकारले व्यवसायीलाई ‘दुस्मनको नजर’ले हेरिरहेको भण्डारीको आरोप छ। शान्तिपूर्ण विरोधले सरकारले व्यवसायीको पीडा नबुझ्ने भएकाले कडा रुपमा आन्दोलन गर्नुपर्ने सुझाव समेत उनको छ। कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले सरकारका कदमले व्यवसायीहरु आतंकित हुनुपर्ने अवस्था आइरहेको बताए। अचाक्ली ब्याजवृद्धि, मनोमानी ढंगले अनुगमन लगायतका कारण सरकारबाट व्यवसायीहरु डराइ रहेको उनको भनाइ छ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.