Agni Offset Press

कृष्णपुरमा २४ घण्टे निःशुल्क स्वास्थ्य सेवा

Aarati simant

कञ्चनपुर, २९ असोज : कृष्णपुर नगरपालिका–५ गुलरियास्थित स्वास्थ्य चौकीमा २४ घण्टे चिकित्सकसहितको निःशुल्क सेवा सञ्चालन गरिएको छ । सर्वसाधारणलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले चिकित्सक सहितको सेवा सञ्चालन गरेको हो ।
सेवा सञ्चालन भएपछि उपचारका लागि सर्वसाधारणले टाढाको धनगढी र महेन्द्रनगर पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । चौबिसै घण्टा आकस्मिकसहित स्वास्थ्य सेवा सञ्चालन गर्ने कृष्णपुर देशकै पहिलो स्वास्थ्य चौकी भएको नगर प्रमुख हेमराज ओझाले बताए । स्वास्थ्य चौकीमा आवश्यक उपकरण र औजारको व्यवस्था गर्न आवश्यक प्रक्रिया पूरा गरिएको नगरप्रमुख ओझाले जानकारी दिए ।
नगरपालिका क्षेत्रभित्रका सुत्केरी हुने महिलाका लागि बर्थिङ सेन्टरसम्म ल्याउन र पु¥याउनका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क गरिएको छ ।
नगरपालिका क्षेत्रमा रक्तअल्पताबाट ३० देखि ३५ प्रतिशत बासिन्दा पीडित रहेको नगरप्रमुख ओझाको भनाइ थियो । स्वास्थ्य चौकीमा २४ घण्टे निःशुल्क स्वास्थ्य सेवा सञ्चालन भएपछि बिरामीको चाप बढेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रतन बिष्टले बताए । दैनिक ७० देखि १५० को संख्यामा बिरामी स्वास्थ्य चौकी पुग्ने गरेका छन् ।
नगरपालिका क्षेत्रमा १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । दश वटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र पहिलेदेखि नै सञ्चालन गरिँदै आएको थियो । हाल स्वास्थ्य केन्द्रमा दुई करार जनशक्तिको व्यवस्था गरिएको छ । नगरपालिकाका सबै बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको नगरप्रमुख ओझाले बताए । उनका अनुसार निकट भविष्यमै निःशुल्क आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.