अत्तरिया : कैलालीको चौमाला बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ। प्रहरी र म्यादि प्रहरी समेतको टोलीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताइएको छ।
त्यस्तै, गोदावरी र घोडाघोडी नगरपालिकाको दमकल पनि ढिलो गरी पुगेको बताइएको छ। गौरीगंगासँग भने दमकल छैन। इलाका प्रहरी कार्यालय चौमालाका अनुसार नेपाली सेना र सशस्त्र प्रहरी पनि आगलागी नियन्त्रणका लागि पुगेको थियो। शनिबार साँझ ७ बजेर २० मिनेटको समयमा विद्युतको तार सर्ट भएर सुरु भएको आगलागी राति ८ बजे नियन्त्रणमा आएको प्रहरीले बताएको हो।
कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीबाट आगलागी सुरु भएको थियो। उक्त मोबाइल ग्यालरीसँगै ६ ओटा पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट हिमाल मोबाइल ग्यालरी, लुम्बिनी होटेल, बहराय मोबाइल ग्यालरी र भण्डारी किराना पसर जलेर नष्ट भएका इप्रका चौमालाले जनाएको छ। पशुपती डम्मरा सप्लायर्स र आचार्य शु सेन्टरमा आंशिक क्षति भएको बताइएको छ।