एमालेको चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु हुँदै

धनगढी : नेकपा एमालेले सुदूरपश्चिमको दार्चुलाबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो ।
एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले कात्तिक १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने बताए ।
उनले अध्यक्ष ओली हेलिकप्टर मार्फत दार्चुला पुगेर सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्ने जानकारी दिए ।
ओली सरकारको पालामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर चुच्चे नक्सा सार्वजनिक गरेको थियो, यसलाई सफलताको रुपमा लिएका ओलीले चुनावी अभियान सुरु गर्न पनि दार्चुलालाई नै रोजेका हुन ।
प्रदेश सचिव पाठक पनि एमाले सरकारको पालामा चुच्चे नक्सा जारी भएको र अब एमाले नेतृत्वकै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी गरे । १८ कात्तिक दार्चुलाबाट अभियान थालनी गरेपछि ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने पाठकले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.