कैलाश जोशी
अत्तरिया, १८ कात्तिक : मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरु भित्र जोड घटाउ सुरु भईसकेको छ । बिहिबार देखि उम्मेदवाहरुका लागि औपोचारिक रुपमा प्रचारप्रचार सुरु भएको छ । कामको सिजनमा हुन लागेको आम निर्वाचनका लागि खेतबारीमा मतदाताहरुलाई भेटघाट गरीरहेका छन् । सुदूरपश्चिमको अछामको निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनावी माहोल तातेको छ । यहाँ सत्तारुढ गठबन्धन र एमालेबीच नै निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
भीम रावललाई मौका नदिएको एमालेलाई यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री शेरबहादुर कुँवरले मैदानमा उतारेका छ । कुँवर नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका हुन् ।
अछाममा प्रभावशाली मानिएका रावलबिना यो निर्वाचनमा एमालेलाई गठबन्धनको सामना गर्न निकै चुनौती हुने चर्चा छ । वि.सं. २०४८ सालदेखि अछाममा उठ्दै आएका निवर्तमान सांसद भीम रावल यति वेला पार्टीमा नेतृत्व विहिन छन् । रावललाई पाखा लगाउँदा एमाले पार्टी भित्र असन्तुष्टि बढेको छ ।
रावलले टिकट नपाएको विरोधमा जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला सदस्य, क्षेत्रीय निर्वाचन कमिटी, पालिका तथा वडा कमिटीका करिब तीन सय बढी नेता कार्यकर्ताले राजीनामा दिईसकेका छन् ।
अछाम १ मा एमालेबाट उम्मेदवार बोहरालाई चुनावमा असन्तुष्ट रावलनिकट नेता कार्यकर्ताले असहयोग गर्न सक्ने डर छ । एमाले अछामको पार्टीपंक्ति अहिले असन्तुष्ट रिझाउन व्यस्त छ । ‘लामो समयदेखि चुनाव लड्दै आएका अनुभवी, राष्ट्रवादी छवि बनाएका नेतालाई बाइपास गरियो, पार्टीको तल्लो कमिटीको निर्णयविपरीत सिफारिस नै नभएकालाई टिकट दिनु कतिको न्याय हो ?,’ एक नेताले भने । भीम रावल राजधानी काठमाण्डौँमा पत्रकार सम्मेलन गर्दै कसलाई मत माग्ने भन्ने विषयमा प्रष्ट बोलेका थिईनन् । उनले काठमाण्डौँमा गरेको पत्रकार सम्मेलनमा भनेका थिए । ‘अछाममा लामो समयदेखि पार्टी निर्माण गर्दै आएको हुँ, त्यहाँका जनता र कार्यकर्ताले सर्वसम्मत सिफारिस गरे, अब उनीहरुको भावलाई गम्भिर रुपमा हेर्छु ।,’
एमालेपार्टीबाट टिकट पाएका झपट बोहरा माओवादीबाट समाहित भएका नेता हुन् । नेकपा विघटन भएर एमाले र माओवादी ब्युँतिएपछि बोहरा एमालेमै रहेका थिए । त्यस क्रममा उनले सुदूरपश्चिम प्रदेश सभा सदस्य पद गुमाएका थिए । एमाले नेता रावलले अछामबाट वि.सं. २०४८ सालदेखि नै चुनाव लडिरहेका छन् । ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट जितेका थिए । रावलले ०५६ सालमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे । त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे । ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए । रावलले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका नेता कार्यकर्ता पूर्ववत् भूमिकामा फर्किएको एमाले अछामका अध्यक्ष चन्द्र बोहरा दावी गर्छन् । ‘राजीनामा दिएका साथीहरु जिल्ला कमिटी बैठकमा उपस्थित भएर पूर्ववत् भूमिका फर्किन सहमत भइसकेका छन्,’ उनले भने, ‘संस्थागत निर्णय मानेर एमालेलाई जिताउन घरदैलो अभियान गरिरहेका छौँ ।’ एक नगरपालिकासहित चार गाउँपालिका रहेको यस क्षेत्रमा ७९ हजार ३६ मतदाताले एक सय तीन मतदाता छन् । साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिकाका मतदाताले प्रतिनिधिसभामा मतदान गर्न पाउनेछन् ।
अछाम–१ का पाँच वटा स्थानीय तहमा नेकपा (एमाले) ले एक उपाध्यक्ष जितेको छ भने चार स्थानीय तहमा काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्व रहेको छ ।
अछाम निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार छन् ।
अछाम क्षेत्र नम्बर १ मा ६ जनाको उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा एमालेले झपटबहादुर बोहरालाई उम्मेदवार बनाएको छ । प्रदेश सभा १ (१) सत्ता कांग्रेसका मेघराज खड्का र प्रदेश सभा १ (२) मा माओवादी केन्द्रका झपटबहादुर साउद उम्मेदवार छन् । यस्तै, नेकपा एमालेबाट प्रदेश सभा १ (१) मा देबबहादुर कुँवर र प्रदेश सभा १ (२) मा कृष्णप्रसाद जैसी उम्मेदवार छन् । यो क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट तेजप्रसाद शर्मा उम्मेदवार छन् । यहाँ राजन कुँवर, महेन्द्रबहादुर बोगटी र हिक्मत कुँवर स्वतन्त्र उम्मेदवार छन् । अछाम–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्णायक हुने पनि आकांलन हुन थालेको छ ।
सम्बन्धित पाेस्टहरु