धनगढी : वाइवाइ यू१९ प्रादेशिक क्रीकेट छनोट प्रतियोगिताको सातौं दिनको पहिलो खेलमा हेमन्त धामीको उत्कृष्ट बलिङ्गमा कञ्चनपुरले डडेल्धुरालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधी सुरक्षित गर्न सफल भएको छ। नेपाल क्रीकेट संघको वार्षिक कार्यक्रमअनुसार कञ्चनपुर जिल्ला क्रीकेट संघको आयोजनामा महेन्द्रनगरमा जारी रहेको प्रतियोगितामा धामीको उत्कृष्ट बलिङ्गले कञ्चनपुरले उपाधी सुरक्षित राखेको हो ।
कञ्चनपुर जिल्लाको कभर्डहलमा भएको फाइनल खेलमा डडेल्धुराले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। डडेल्धुराले निर्धारित ४० ओभरको खेलमा १६।४ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ४१ रन जोड्न सफल भयो।ब्याटिङतर्फ डडेल्धुराका लागि कुनैपनि खेलाडीले दोहोरो रनअंक जोड्न नसक्दा सस्तैमा समेटिन पुगेको टिम प्रशिक्षक निरज रावलले बताए । बलिङतर्फ कञ्चनपुरका लागि हेमन्त धामीले ५ ओभरमा ३ मेडेनसहित ५ रन खर्चंदै सर्वाधिक ह्याट्रीक सहित ५ विकेट लिन सफल भए।
४२ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा मैदान उत्रेको कञ्चनपुरले निर्धारित ४० ओभरको खेलमा ८।१ ओभरमा २ क्षतिमा मात्र ४५ रन बनाउदै खेल ८ विकेटले जित्दै वाइवाइ यू१९ एकदिवसीय छनोट क्रीकेट प्रतियोगिताको उपाधी पनि आफ्नो पक्षमा पार्न सफल भए।ब्याटिङतर्फ कञ्चनपुरका लागि कप्तान अनुराग सिंहले २३ बलमा सर्वाधिक १९ अविजित रन बनाउदा राहुल चन्दले १७ बलमा १२ रन बनाउन सफल भए।
बलिङतर्फ डडेल्धुराका लागि कप्तान कैलाश ऐरले ४।१ ओभरमा २५ रन खर्चँदा कृष्ण बिष्टले पनि १ ओभरमा १ रन खर्चंदै समान १र१ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ उपाधी भने दिलाउन सकेनन्।
वाइवाइ यू१९ प्रादेशिक छनोट एकदिवसीय क्रीकेट प्रतियोगिताको सातौं दिनको फाइनल खेलमा कञ्चनपुर ८ विकेटको फराकिलो अन्तरले विजयी हुनसफल हुँदै प्रतियोगिताको उपाधी पनि जित्न सफल भयो। उक्त खेलमा म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी घोषित भए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हेमन्त धामीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिदा डडेल्धुराका दिपक बोहरा उत्कृष्ट ब्याट्सम्यान तथा अछामका युवराज खत्री प्रतियोगिताको उत्कृष्ट बलर घोषित भए।