
काठमाण्डौँ : युएईविरुद्धको तीन खेलको एक दिवसीय सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो ।
नेपालले पहिलो खेल ८४ रनले गुमाएको थियो। दोस्रो खेलमा ३ विकेटले जित हात पार्दै सिरिज बराबरी गरेको थियो । युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै भेटटायो ।
दोस्रो विकेटका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले १२२ रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए। ज्ञानेन्द्र मल्ल ६४ रन बनाउँदा एलबीडब्लु धरापमा परे । ७३ बलको बलको सामना गरेका मल्लले ७ चौका र ३ छक्का हाने। रोहित पौडेल १० रनमा रन आउट भए । ओपनर अर्जुन साउद ९ रनमा क्याच आउट भए। दिपेन्द्र सिहं ऐरि शुन्य रनमा रनआउट भए ।
आशिफ शेख ८८ रनमा नटआउट रहे। ११९ बलको सामना गरेका आशिफले १२ चौका हाने । युएईका हज्रत विलाल र आयान अफ्जल खानले एक एक विकेट लिए । त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो । एक समय ३१.१ ओभरमा ९३–९ को अवस्थामा रहेको युएईका आयान अफ्जल खान र अज्रत विलालले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे ।
लगातार विकेट पतनपछी दबाबमा आएको युएईका लागि आयानले ५४ र अज्रत २० रनमा नटआउट रहे। आयानले ६३ बलमा ७ चौका र १ चौका हाने । अज्रतले ५४ बलमा १ छक्का हाने ।
आलिसान सराफ ३३, रोहन मुस्ताफा २४ रनमा पवेलियन फर्के । ओपनर मुहम्मद वसिमले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेन्न । गुल्सन झा र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए । किफायती बलिङ गरेका दिपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे । ७ ओभर बलिङ गरेका गुल्सनले ४२ रन खर्चे। कुशल भुर्तेलले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट झारे। सोमपाल कामी, ललित राजवंशीले समान १ विकेट झार ।
