अत्तरिया, २० पुस : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न गठित टोली कञ्चनपुर पुगेको छ । कञ्चपुरकी १३ वर्षीया बालिका पन्तको हत्या प्रकरणको अनुसन्धान गर्न गठित अनुसन्धान टोलीका संयोजक डिआईजी दुर्गा सिंह कञ्चपुर पुगिसकेकी छिन् ।
यसअघि पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का जुनियर प्रहरी अफिसरको एक टोली कञ्चनपुरमै बसेर उक्त घटनाको अनुसन्धान गरिरहेको छ । टोलीका अन्य सदस्य भने कञ्चनपुर जाने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ ।
गृहमन्त्री रवि लामिछानेले पदभार सम्हालेलगत्तै आफ्नो पहिलो निर्णयमा नै पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने बताएका थिए । उनको निर्देशनपछि प्रहरी हेडक्वाटरले सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो ।
समितिमा सिंहसँगै सिआइबीकै एसपी कमल थापा, इन्सपेक्टर हिरेन्द्र रोकाय र दुईजना मनोचिकित्सक छन् । उक्त टोलीले कञ्चनपुर पुगेर निर्मला घटनाको मिहिन अनुसन्धान गर्ने बताइएको छ ।