अत्तरिया : प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश सभामा रहेको ९३ सांसद मध्ये ६० सांसदको समर्थन जुटाएर उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
उनको समर्थनमा प्रदेश सभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद रहेका छन् । यो प्रदेशमा सरकार बनाउन ४७ सदस्य आवश्यक पर्छ । तर करिब दुईतिहाई सदस्यको समर्थनमा कार्की मुख्यमनत्री बनेका छन् । प्रदेशसभामा कुनैपनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख पर्शुराम खापुङले आज ५ बजेसम्मको समयसीमा दिएका थिए । मुख्यमन्त्रीको शपथ भने भोलि (सोमबार) मात्र हुने बताइएको छ ।