सुदूरपश्चिममा नागरिक उन्मुक्तिले निर्णय नगर्दा अलमलमा गठबन्धन

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा मुख्‍यमन्त्रीका लागि दाबी पेस गर्ने समय करिब १ घण्टा मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू सम्पर्कविहीन बनेका छन्। टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशमलाल चौधरी संस्थापक रहेको उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सम्पर्कविहीन बनेका हुन्।​ प्रदेशसभा सदस्यहरू आफ्नो सम्पर्कमा नभएकाले आफू धनगढीमा उनीहरुको खोजी गरिरहेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

आफू अहिले प्रदेश सभास्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेको तर कुनै पनि प्रदेश सभा सदस्य सम्पर्कमा नाआएको उनले बताए। केन्द्रमा भएको सहमतिको लिखित प्रतिबद्धता नआएसम्म प्रदेशबाट गठबन्धनलाई कुनै निर्णय गर्न नसकिने नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दलले बताएको छ। प्रदेशसभा सदस्यहरुसँग सम्पर्क गर्न प्रयासरत रहेको उनको भनाइ छ। स्रोतका अनुसार उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरु अहिले प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीको गोप्य स्थानमा कुन गठबन्धन अथवा दललाई समर्थन गर्ने भन्नेबारे छलफल गरिरहेका छन्।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्नका लागि तोकिएको समय घर्किंदै जाँदा प्रदेश सरकार गठन प्रक्रिया अन्योल बनेको छ। मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा रहेको नेकपा एमालेले पनि उन्मुक्तिको संसदीय दलसँग सम्पर्क गर्न प्रयासरत रहेको जनाएको छ। यस्तै, नागरिक उन्मुक्तिसँग शीर्ष तहमा छलफल भइरहेको र सरकार गठनको समय सीमाभित्र बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने एमालेको दाबी छ। कांग्रेसले मुख्‍मन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छैन। सभामुखमा भने दाबी गर्दै उसले मनोनयन दर्ता गराइसकेको छ।

सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म छ। ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.