एलपीएलको सातौँ संस्करण माघ २१ गतेबाट

धनगढी,२९ पुस : धनगढीमा विगत ६ वर्षदेखि आयोजना हुँदै आएका विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण आगामी माघ २१ गतेबाट सञ्चालन हुने भएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता माघ २१ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगिताको यो संस्करण धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

सातौँ संस्करणको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०-१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजनाले जनाएको छ । प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहेको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । प्रतियोगिताको यो संस्करणमा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिनेछ । यसरी विभाजन गर्दा एउटा विद्यालय टिमले ४ वटा लिग चरणकै खेल खेल्न पाउने छन् । प्रतियोगिताका लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ। मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आई ई. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.