धनगढी : सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्टले देश विकास गर्न राजनीतिक र प्रशासनिक नेतृत्व दुबै मुख्यपाटोका रुपमा अगाडि बढ्ने बताएका छन ।
आइतबार धनगढीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को प्रथम सुदूरपश्चिम अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने ‘जुन देशमा यसको तालमेल मिलेको छ, त्यो देशले विकास गरेको छ र हाम्रो जस्तो देशमा समस्या सिर्जना भएको छ ।’ कर्मचारीले राजनैनिक नेतृत्व र राजनैतिक नेतृत्वले कर्मचारीलाई गाली गर्ने प्रर्था अन्त्य गर्नु पर्ने बताउँदै भट्टले भने, ‘कमजोरी दुवै ठाउँमा छन तर त्यो कमजोरीलाई महसुस गरेर अगाडि बढ्न सकियो भने सफल हुन सकिन्छ, हुन्छ पनि तर त्यो हाम्रो बीचमा देखिँदैन ।’
‘जनतामा राजनीतिक नेतृत्वले बोलेको कुरा,दिएको बिचार र जनताले उठाएका कुराहरुलाई राजनीतिक नेतृत्वले प्रशासनिक रुपबाट ल्याउँछ’, उनले थपे, ‘खास गरी कानुन निर्माण गरेर कार्यान्वयन गर्ने भनेको प्रशासन तन्त्रले हो ।’ कार्यक्रमा भट्टले प्रशासन भित्रका बिचौलियाहरुले प्रशासन र राजनीति भित्रका बिचौलियाहरुले राजनीति बदनाम भएको बताए । नयाँ विचार र नेतृत्वले मात्रै नपुग्ने बताउँदै उनले भने, ‘आफूलाई नयाँ बनाउन सक्नुपर्छ,व्यक्तिले जबसम्म आफूलाई रुपान्तरण गर्दैन तबसम्म नयाँपन र नयाँ चिज दिन सक्दैन ।’