अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकामा निर्माणाधीन दुई वटा पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेका छन्। ठेकेदारले ठेक्का सकारे पनि समयमै निर्माणको काम नगर्दा पुल निर्माण कार्य अधूरै रहेको छ।
गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयास्थित बालुवाटार जोड्ने कटैनी खोला र चौमाला पुरानो बजार जोड्ने नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कैलालीले ठेक्का आह्वान गरेपछि वाई पी कन्स्ट्रक्सनले ठेक्का सकारेको थियो। कम्पनीले २०७९ असार ३१ सम्म काम सक्नुपर्ने थियो। तर, म्याद सकिएको ७ महिना बितिसक्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि स्थानीय आक्रोशित बनेका छन्।
आफूहरू समयमै पुल बनाइदिन भन्दै पटक पटक पूर्वाधार विकास कार्यालयमा धाउँदा पनि ठेकेदार मालिक सम्पर्कमै नआएको स्थानीय जगत जैगडीले बताए। गत असार ३१ गते भित्रै पुल निर्माण भइसक्नु पर्ने भए पनि अहिलेसम्म पिल्लरै नठडिएका कारण पनि स्थानीय आक्रोशित बनेको जैगडीले बताए।
५ करोड २८ लाख रुपैयाँमा अण्डैयास्थित पुल निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले १ करोड ४५ लाख रुपैयाँ निकासा गरिसकेको छ। निकासा गरेको रकम अनुसार काम नभएको बताइएको छ। आफूहरूले निर्माण कम्पनीका ठेकेदारलाई पटक पटक मौखिक र लिखित पत्राचार गरेर काम समयमै सक्न र सुचारु गर्न दबाब दिए पनि उनी सम्पर्कमै नआउने गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले बताए।
यस्तै ७ करोड २७ लाख रुपैयाँको लागतमा चौमालास्थित पुल निर्माण गर्न निर्माण कम्पनीले ठेक्का लिएको थियो। सो पुलको निर्माण कार्य पनि अलपत्र परेको भन्दै स्थानीयले गुनासो पोख्न थालेका छन्। निर्माण कम्पनीका ठेकेदार देवजंग शाहीले अण्डैयाको पुल निर्माण कार्य ४० प्रतिशत भएको बताए। उनले भने,‘केही प्राविधिक कारणले हामीले समयमै गर्न सकेनौँ। तर, पनि काम भइरहेको छ।’ चौमालाको पुल निर्माणका लागि भने डिजाइनमै त्रुटि भएका कारण रोकिएको उनले बताए। ‘