धनगढी,१७ माघ : धनगढीको एक कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। मंगलवार बिहान धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजी बढी लागुऔषधसहित ४ जनालाई समातिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका९२ स्थायी घर भएका उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले संचालन गरेको उद्योगबाट ११ केजी ९०० ग्राम लागुऔषध बरामद गरिएको हो।
जिप्रका कैलालीको टोलीले उद्योग संचालक धामीसहित दार्चुलाको नौँगाड २ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु ७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक २ घर भई कैलालीको बर्दगोरिया ४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १ थान डिजिटल काँटा पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।