गेटा आँखा अस्पताल द्घारा बझाङमा ४५५ जनाको आँखाको निःशुल्क शल्यक्रिया

अत्तरिया : कैलालीको गेटा आँखा अस्पतालले बझाङका ४४५ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरूको आयोजना तथा तेज कोहली रुइत फाउन्डेसनको सहयोगमा गएको माघको ७ देखि १६ गतेसम्म बझाङका प्राथमिक स्वास्थ्य केन्द्र देउलेक, जिल्ला अस्पताल चैनपुर र भैरव मावि झोतामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा ४ सय ४३ जनाको मोतिबिन्दुको र २ जनाको अन्य शल्यक्रिया गरिएको हो। तीनवटै शिविरबाट १ हजार ६ सय ३० जनाले उपचार सेवा लिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए।

गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. अनिल गुरुङको नेतृत्वमा सञ्चालित उक्त शिविरहरूमा, १५ जना प्राविधिकको टोलीले सेवा प्रदान गरेका थिए। प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवामा पहुँच बढाइ अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले महेन्द्रनगर, टीकापुर र डडेलधुरामा नेत्र विशेषज्ञ सेवासहितको अस्पताल स्थापना गरि आँखा उपचार तथा अप्रेशन सेवा प्रदान गर्दै आएको छ। उसले, आँखा उपचार केन्द्र धनगढीमा सातामा एक पटक प्रत्येक बिहीबार र आँखा उपचार केन्द्र बेलौरीमा प्रत्येक महिनाको अन्तिम बुधबार महिनामा एक पटक नेत्र विशेषज्ञबाट अप्रेशन सेवा प्रदान गर्दै आइरहेको छ।

प्रदेशका ९ वटै जिल्लामा स्थापना गरिएका आँखा उपचार केन्द्रहरूबाट आँखा उपचार सेवा प्रदान गरिरहेको तथा आँखा उपचार केन्द्रमा सेवा लिन आएका जटिल प्रकृतिका बिरामीहरूलाई टेलिमेडिसिन सेवा द्वारा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श तथा उपचार सेवा पनि प्रदान गरिदै आएको छ। गत वर्ष गेटा आँखा अस्पताल र अन्तरगतका शाखाहरू तथा शिविरबाट २ लाख ५१ हजार ८ सय ३१ जनालाई सेवा प्रदान गरेकोमा २४ हजार १ सय ४१ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.