
अत्तरिया : कैलालीमा हात्तीपाइले रोगविरुद्ध औषधि भोली बिहिबार बाट खुवाइने भएको छ । स्वास्थ्य कार्यालय कैलालीले मंगलबार पत्रकारसंग अन्तरक्रिया गर्दै यही फागुन ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाउने अभियान सञ्चालन गरिने जानकारी दिएको हो ।
अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले यो वर्ष कैलालीसहित ६ प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । कैलालीमा यसवर्ष ११ औं चरण अन्तर्गत हात्तीपाइलेको औषधि खुवाउन लागिएको हो । यसअघि धेरैले औषधि नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
औषधि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खुवाइने स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोगका फोकल पर्सन मीनबहादुर धामीले बताए । कतिपयले औषधि लिएर घरमा जाने तर नखाने गरेको पाइएकाले यसपटक स्वास्थ्यकर्मीकै अगाडि औषधि खुवाउन लागिएको उनले बताए ।
कैलालीमा यो वर्ष १३ पालिकाको १२६ वडाका १४२ स्वास्थ्य संस्थाबाट औषधि खुवाइने फोकल पर्सन धामीले बताए । जिल्लाका ९ लाख २६ हजार ८८८ जनालाई औषधि खुवाउन पालिकाहरूले पालिकास्तरीय योजनाअनुसार काम गर्ने बताइएको छ । हात्तीपाइले रोग शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने भएकाले रोगबाट बच्न औषधि खानु एक मात्र विकल्प भएको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए ।
हात्तीपाइलेबाट बच्न औषधि सेवन गर्नु एक मात्र विकल्प हो । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु नहुने डाक्टर कमरले बताए । यो वर्ष कैलालीसहित झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ र बाँके जिल्लामा यो अभियान सुरु हुनेछ ।
