
अत्तरिया : सुदूरपश्चिम यातायातका व्यवसायी संघका पुर्ब अध्यक्ष तथा संस्थापक सदस्य हरिप्रसाद पाण्डेयको निधन भएको छ । आन्द्रामा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचाररत ७१ बर्षीय पाण्डेयको आज बिहान निधन भएको हो ।
पान्डेयको निधनले यातायातको क्षेत्रमा अपुरणिय क्षति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए । उनले सरल स्वभावका पाण्डेयले यातायातको क्षेत्रमा पु¥याउनु भएको योगदान कहिले विर्सन नसकिने बताए । सुदूरपश्चिम यातायात व्यवसायी संघ पुर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीले सुदूरपश्चिम क्षेत्रमा सार्वजनिक यातायातको जग बसाल्ने काममा पाण्डेयको योगदान रहेको बताए । उनले विषम परिस्थितिमा समेत सम्पुर्ण यातायात ब्यबसायीहरुलाई एकजुट बनाई सार्वजनिक यातायातको क्षेत्रमा उल्लेखनीय योगदान रहेको भन्दै पाण्डेयको निधनले स्तब्ध बनाउएको उल्लेख गरे ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले पाण्डेको निधनले प्रालिले अभिभावक गुमाउनु परेको पीडा सदैव रहने बताए । हाल प्रालिको संरक्षक समेत रहेका पाण्डेयले यातायातको क्षेत्रमा देखाउनु भएको मार्गदर्शन प्रालिले हमेसा पालना गर्ने अध्यक्ष सापकोटाले बताए । अध्यक्ष सापकोटाले पाण्डेयको दाहसंस्कार आजै काठमाडौ स्थित पशुपतिमा गरिने समेत जानकारी दिए । अध्यक्ष सापकोटाले पाण्डेयको निधनमा आज एकदिन कार्यालय बन्द रहने समेत जानकारी दिए ।
