Agni Offset Press

अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढ्यो

Aarati simant

अत्तरिया : कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा अतिक्रमण बढेको छ । सो क्षेत्रमा तीब्ररुपमा संस्थागत तथा निजीरुपमा सडक किनारमा रहेको वन क्षेत्रमा अतिक्रमण बढेको हो । निर्वाचनको मुखैमा राजनीतिक दलका नेताहरुलाई भोटको लोभ देखाउँदै सुकुमबासीका नाममा सडक किनारमा अतिक्रमण गर्छन । त्यो अतिक्रमित बस्तीलाई नहटाइँदा टहरा बदलिएर अहिले ठूलठूला घर निर्माण भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते तेघरी जंगलमा राजधानी स्थल तोके लगत्तै वनमाफियाहरुको आँखाको तारो बनेको सो क्षेत्रको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र लकडाउनका कारण चैतपछि भने अतिक्रमणको उच्च चपेटामा परेको थियो ।
गोदावरी नगरपालिकाले जग्गा नापीको कार्य धमाधम अगाडि बढाईरहँदा अत्तरिया आसपासका सामुदायिक वन र सडक किनारका खाली जमिन अतिक्रमणको चपेटामा परेको स्थानीय प्रवेश रावतले बताए । ‘जग्गा नापीको काम भईरहेको बेला अतिक्रमणकारीले वन क्षेत्रमा कब्जा जमाउन थालेका छन्,’ उनले भने, ‘जबजब राजनीतिक फेरबदल हुन्छ । त्यही बेला अत्तरिया क्षेत्रको वन अतिक्रमणको चपेटामा पर्छ ।’ पछिल्ला दिनहरुमा महेन्द्रनगर रोडमा रहेको गोदावरी खोला पारिको सडक किनार अतिक्रमण हुन थालेको छ । गोदावरी नगरपालिका–३, स्थित बडिमालिका सामुदायिक वनको तारबार गरिएको सीमा नजिकै सडकको जमिन अतिक्रमणको चपेटामा परेको हो । यस्तै वडा नम्बर ३ मै रहेको गैरगाउँमा रहेको सामुदायक वन पनि अतिक्रमणको चपेटामा परेको छ ।

राजनीतिक उथलपुथल भएका बेला अत्तरिया क्षेत्रमा वन तथा सडकको जमिन अतिक्रमण हुनु सामान्य भएको बताउँदै अर्का स्थानीय जीवन रावलले, ‘देशमा राजनीतिक घटनाक्रम भएका बेला सबैको ध्यान उतै केन्द्रित हुने भएकाले अतिक्रमणकारीले वन क्षेत्र कब्जामा लिने गरेको पुरानै रोग हो ।’ बडिमालिका सामुदायिक वनको जमिनलाई लक्षित गर्दै सडक किनारमा टहरा बनाएको बताउँदै उनले भने,‘यसमा देखिने बेलामा गरिब, सुकुमबासीलाई अगाडि लगाइन्छ, तर पछाडिबाट ठूला भू तथा वन माफियाकै चलखेल छ ।’ सुकुमबासीलाई प्रयोग गरेर वन माफियाले अतिक्रमण गराउने गरेको बताउँदै उनले भने,‘राजधानी स्थल तोकिएको तेघरी जंगल नजिकै रहेको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्र, महेन्द्रनगर रोड किनारमा सुकुमबासीलाई प्रयोग गर्दै वन तथा भूमाफियाहरुले चलखेल गर्दै आएका छन् ।’
अत्तरिया क्षेत्रमा बाढी पीडित, सुकुम्बासीका नाममा जंगल छेउमा बस्दै आएकाहरु पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगलमा राजधानी बनाउने घोषणा गरेसँगै जंगल किनारमा बस्दै आएकाहरु सामुदायिक तथा रािष्ट्रय वनको सिमाना मिच्दै जमिन बढाउन थालेका छन् भने केही वनमाफियाहरु आफू तथा आफन्तलाई लिएर वन क्षेत्रभित्रै टहरा बनाउन थालेका छन् ।
सडक किनारमा बसेकाहरु पछिल्लो समयमा सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय बताउँछन् । ‘सामुदायिक वन र राष्ट्रिय वन भित्रै पसेर वन माफियाहरुले अतिक्रमण गरी घर टहरा बनाइसकेका छन्,’ स्थानीय मशेस बडुले भने । जंगल किनारमा बसेकाहरुले आफूसँगै आफ्ना नजिकका नातेदारलाई ल्याएर वनको सिमाना मिच्दै जमिन बनाउने गरेको उनी बताउँछन् । ‘टहरो मात्रै बनाएकाहरुले करेसाबारी बनाएर जंगलको सिमाना मिच्दै जमिन अगाडि बढाउन थालेका छन्,’ उनले भने,‘एउटैले दुई÷चार कठ्ठा जमिन बनाएका छन् ।
अतिक्रमण क्षेत्र एक्लो वनको प्रयासले मात्र सफल नहुने धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । ‘सो क्षेत्रमा खाली जमिन अतिक्रमण गरिन थालिएको छ, यसलाई कसरी हटाउने भन्ने विषयमा योजना बनाईरहेका छौँ ।’
प्रदेश वन निर्देशनालयको तथ्याङ्क अनुसार कैलालीमा अहिलेसम्म २१ हजार १ सय ५४ दशमलव ७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा १ लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत (२१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर क्षेत्रफल) वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ । देशभरमै अतिक्रमित वन क्षेत्रको १ लाख हेक्टर क्षेत्रफल मध्ये २१ हजार हेक्टर क्षेत्रफल कैलाली जिल्लामा अतिक्रमण भएको हो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.