
अत्तरिया : कंचनपुरको बेलडाँडी गाउँपालिका-५ इमिलियाबाट नयाँ रुट खोलिएको छ । बुधबार बेलडाँडीमा आयोजित एक समारोहका बिच मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ रुटको उद्घाटन गरेका छन् । रुट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पर्यटन क्षेत्रलाई समृद्धि र विकासको आधार मानेर प्रदेश सरकारले योजना ल्याउने बताए ।
प्रदेश सरकारको तर्फबाट निजी क्षेत्रसँग समेत समन्वय गरी पर्यटन क्षेत्रमा लगानी भित्र्याउन केन्द्रित हुने उनले बताए। शाहले समग्र सुदूरपश्चिमको विकासका लागि पर्यटन क्षेत्रको संवर्द्धन, प्रवर्धन गर्न आवश्यक रहेको औँल्याए । सङ्घीय सरकारको निर्णय अनुसार बेलडाँडी गाउँपालिकाले निकुञ्ज प्रवेशका लागि रुट निर्माण गरेको हो । अब दक्षिणी क्षेत्रबाट समेत निकुञ्ज प्रवेशका लागि सहज हुने नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले बताए ।
बेलडाँडी गाउँपालिकाले तत्कालका लागि चौधर नदीमा काठको पुल निर्माण गरी निकुञ्ज भित्र झन्डै डेढ किलोमिटर लामो ट्र्याक खोलेको छ । चौधर नदीमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको भए पनि निर्माण कम्पनीले काम सुरु भने गरेको छैन ।
अब यथाशीघ्र नदीमा पुल निर्माणको कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई ताकेता गरिने बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन गर्न जानेहरूका लागि हालसम्म मझगाउँमा एक मात्र प्रवेशद्वार चलनमा थियो ।
त्यसको विकल्पमा बेलडाँडीबाट समेत प्रवेश रुट सञ्चालनमा ल्याइएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मुख्य फाँटा र त्यहाँ देख्न सकिने वन्यजन्तुहरू तथा मनोहर दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक दक्षिणबाट भित्र्याउन सके यहाँको पर्यटनले फट्को मार्ने अपेक्षा गरिएको छ ।
