
अत्तरिया : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण निषेधको राजनीति खेप्नु परेको बताएका छन् । शुक्रबार आठ दलीय गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको ज्याजदीका कारण नागरिक समाज समेत आक्रान्त बनेको आरोप लगाए । पाण्डेले न्यायपालिकाको अपमानप्रति मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक ठाउँमा उभिएको बताए ।
उनले मतदाताकाबीचमा स्पष्ट रुपमा संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकलाई राजनीतिक स्थायित्वका दिन, विकास र समृद्धिका लागि मत मागेको बताउँदै राजनीतिक स्थिरताबाट मात्रै मुलुकलाई समृद्धि र स्थायित्व दिन सक्ने दाबी गरे । बीचमा केही विचलन पैदा भएपनि अहिले राजनीति ठीक ठाउँमा आएको बताए । प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री स्वीकार गर्दै पुस २६ गते विश्वासको मत दिएको पाण्डेले स्मरण गरे ।
आठ दलीय गठबन्धनबाट हस्ताक्षर गर्दै कोही प्रस्तावक र कोही समर्थक जनाएर कांग्रेसको तर्फबाट रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको उल्लेख गर्दै उनले गठबन्धनले कोर्स करेक्सन गरेको दाबी गरे । प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा एकताको सन्देशका लागि यही २५ गते रामचन्द्र पौडेललाई जिताउन उनको आग्रह छ । साथै, उनले नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट एकताको सन्देश दिएको समेत बताए ।
