सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो । सभामुख भीमबहादुर भण्डारीले शाहले पेस गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त भएका थिए । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेअनुसार आज शाहले विश्वासको मत लिएका हुन् । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन् प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र एक÷एक सांसद छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.