
अत्तरिया : सुदूरपश्चिममा साना, घरेलु तथा लघु उद्योगको संख्या बढ्दै गएको छ । प्रदेशमा २६ हजार ६४४ उद्योग दर्ता भएका छन् । एउटा मात्रै मझौला उद्योग दर्ता रहेको यो प्रदेशमा ठूला उद्योग भने एउटै छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार यस प्रदेशमा साना उद्योग १९ हजार ३४१, घरेलु उद्योग २ हजार ४८७ र लघु उद्योगको संख्या ४ हजार ८३८ छ । प्रदेशभर एउटा मात्र मझौला उद्योग दर्ता छ । ठूला उद्योगको संख्या शून्य छ ।
साना, घरेलु र लघु उद्योगमध्ये सबैभन्दा धेरै कैलालीमै छन् । सुदूरपश्चिमको व्यापारिक केन्द्र एवं प्रदेश राजधानीसमेत रहेको कैलालीमा साना, घरेलु र लघु उद्योगको संख्या भने ५ हजार ४४१ छ । ९ हजार ३७९ साना उद्योग रहेको कञ्चनपुरमा घरेलु उद्योग दर्ता छैनन् । तर लघु उद्योगहरूको संख्या भने ८१ छ ।
कैलालीमा साना, घरेलु तथा लघु उद्योगको लगानी २३ अर्बभन्दा बढी रहेको घरेलु तथा साना उद्योग कार्यालय कैलालीले जनाएको छ । कार्यालयको गत पुस मसान्तसम्मको अभिलेखअनुसार यी उद्योगमा २३ अर्ब ४३ करोड ४७ लाख लगानी भएको छ । ती उद्योगहरूले ७६ हजार ५२५ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् ।
कार्यालयका प्रमुख कमलप्रसाद ओझाका अनुसार रोजगार पाउनेहरूमध्ये ८ हजार ५८ जना महिला छन् । कैलालीमा १४ हजार ६८१ साना उद्योग सञ्चालनमा छन् । तीमध्ये ५ हजार ९४५ जना महिलाका नाममा सञ्चालित छन् । कैलालीमा सञ्चालित साना उद्योगमध्ये उत्पादनमूलक उद्योगको संख्या भने तुलनात्मक रूपमा कम छ ।
सञ्चालितमध्ये सबैभन्दा बढी कृषि उद्योगहरू छन् । कृषि उद्योगहरूको संख्या ६ हजार १३५ छ । सेवामुलक उद्योगहरूको संख्या ५ हजार ३८५ छ । उत्पादनमूलक उद्योगहरूको संख्या भने ३ हजार ८७ छ । पर्यटनमूलक उद्योग ६१ र पर्यटन उद्योग २ वटा छन् । सूचना प्रविधिमूलक उद्योगहरू ९ वटा र निर्माणमूलक उद्योग २ वटा दर्ता भएको कार्यालयका प्रमुख ओझाले बताए । रोजगारी सिर्जना भने उत्पादनमूलक उद्योगहरूले गरेको छ । यी उद्योगहरूबाट २९ हजार ३१४ जनाले रोजगारी पाएको अभिलेख छ । सेवामूलक उद्योगबाट २५ हजार ६३३ जना रोजगारी सिर्जना भएको छ । यस्तै कृषिमूलक उद्योगले २० हजार ८६९ जनालाई रोजगारी दिएको तथ्यांक छ । उद्यम सम्बन्धी तालिम र अनुदान कार्यक्रमले उद्यमी र उद्योगहरूको संख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख ओझा बताउँछन् । उनका अनुसार पाँच वर्षको अवघिमा कैलालीमा तीन हजार ८५६ जना उद्यमी सिर्जना भएको छ ।
एक हजार १५ जना नयाँ उद्यमीहरूलाई प्रविधि पनि हस्तान्तरण गरिएको छ । प्रदेशमा कृषिमूलक उद्योगअन्तर्गत गहुँको पिठो, खाने तेल, प्रशोधित दूध, चामल, चिनी, काठ, सावुन, ईटा, रोजिन एण्ड टर्पेन्टाइन, कंक्रिट जस्ता उत्पादन तथा छन् । सेवामूलक उद्योगहरूमा विभिन्न सेवा प्रदायक कार्यालयसँग सम्बन्धित काम गर्ने उद्योगहरू र पर्यटनमूलक उद्योगहरूमा होटल रेस्टुरेन्टहरू छन् । नेपाल राष्ट्र बैंक धनगढीको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८\०७९ मा गरेको आर्थिक गतिविधि सर्वेक्षणले सुदूरपश्चिममा औद्योगिक कर्जा लगानीमा १४।०३ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । त्यस आर्थिक वर्षमा २७ अर्ब २७ करोड ८२ लाख औद्योगिक कर्जा लगानी पुगेको प्रतिवेदनमा उल्लेख छ ।
