
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीलाई प्रमुख प्रवेशद्धारा बनाउने विषयमा छलफल भएको छ । बुधबार निकुञ्जका प्रमुख किशोरकुमार मेहता, शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रणबहादुर महरा, वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराबीच अर्जुनीलाई प्रमुख प्रवेशद्धार बनाउने विषयमा छलफल भएको हो ।
उनीहरुबीच भएको अनौपचारिक छलफलमा शुक्लाफाँटा नगर प्रमुख महराले अर्जुनीलाई प्रमुख प्रवेशद्धारा बनाउन आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । उनले अर्जुनी प्रवेशद्धार र बेलडाँडीमा खोलिएको प्रवेशद्धारलाई जोड्नुपर्ने बताए । ‘कृष्णसार आउने पर्यटकलाई बेलडाँडीसँग जोड्न मार्ग निर्माण गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्छ।’ शुक्लाफाँटा निकुञ्ज र नगरपालिकाहरुबीच सहकार्य आवश्यक रहेको बेदकोट नगर प्रमुख भोजराज बोहराले बताए ।
‘यो पहिलो चरणको अनौपचारिक छलफल हो, निकुञ्जबाट नगरपालिकाले के पाउने र नगरपालिकाले निकुञ्जलाई के दिन सक्छ भन्ने विषयमा छलफल गर्नु जरुरीछ,’ उनले भने, ‘शुक्लाफाँटामा पर्यटकको आकर्षण बढाउने र मध्यवर्ती क्षेत्रका नागरिकलाई आयआर्जनसँग जोड्ने गरि सहकार्यमा काम गर्नुपर्छ ।’
कञ्चनपुरका पालिका र निकुञ्जले प्रकृतिको संरक्षण तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्याकेजनै बनाएर काम गर्नुपर्ने उनले बताए । ‘निकुञ्जबाट भीमदत्त, दोधाराचाँदनी, बेदकोट र शुक्लाफाँटा बढी प्रभावित छ,’ उनले भने, ‘यी सबै पालिका र निकुञ्जले सहकार्य गरी पर्यटकलाई शुक्लाफाँटा र पालिकास्थित पर्यटकीय स्थलमा घुमाउन प्याकेज बनाउनुपर्छ ।’
शुक्लाफाँटामा पर्यटकलाई घुमाउने वातावरण सबै पालिकाहरुले बनाई दिनुपर्ने निकुञ्जका प्रमुख किशोर कुमार मेहताले बताए । ‘शुक्लाफाँटाको प्रचारप्रसारको अभावले यहाँ न्यून पर्यटक पुग्छन्,’ उनले भने, ‘प्रवेशद्धार मात्रै खोलेर हुँदैन्, प्रचारप्रसार र संरक्षणमा पनि जोड दिनु आवश्यक छ ।’ कञ्चनपुरको विकास र समृद्धिका लागि जिल्ला समन्वय समिति कञ्चनपुरले जिल्ला सभा गरि योजना बनाउने समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए।
