
अत्तरिया : मोहनापुल अत्तरिया ६ लेन सडकको काम अझैसम्म अधुरै रहेको छ। आयोजना निर्माण सम्झौता अनुसार दुई वर्षमा निमार्ण सक्नुपर्ने सो ६ लेन सडक ६ वर्ष पुग्नै लाग्दासमेत पूरा हुन सकेको छैन् भने पुलको काम अधुरै रहेको हो। १४ दशमलव २ किलोमिटर रहेको लामो उक्त सडकको रेलिङ, फुटपाथ, रङरोगनलगायत पुल निमार्णको काम बाँकी छ।
यसअन्तर्गत पर्ने खोलामा पुल र बाटो काट्न ओभरहेड पुल बनाउन अझै बाँकी छ। पहिलोप्याकेजअन्तर्गत तीनवटा र अर्को प्याकेजमा थप तीनवटा गरी छवटा ओभरहेड पुल बन्ने जनाइएको छ। पहिलो प्याकेजका तीनवटा पुल निर्माणको काम पनि निकै सुस्त गतिमा रहेका छन्। गौरीफन्टा नाका जोड्ने मोहना नदी तथा गेटाको मनहरा र सुनिखोलामा पुल निर्माणको काम भइरहेको हो । तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको सुनिखोला पुल गत असोजमै सम्पन्न हुनुपर्ने हो।
तर, अहिलेसम्म ४९ प्रतिशत मात्र काम भएको महाकाली पुल आयोजना कार्यालयले जनाएको छ। यो पुलको ठेक्काको म्याद थप्ने प्रक्रिया अगाडि बढेको छ । मनहरा खोलामा करिब सात करोडको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति १५ प्रतिशत मात्र छ । निर्माण अवधि १५ महिना बाँकी रहे पनि हालसम्मको प्रगति निराशाजनक सबइन्जिनियर खड्काले बताए। उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले पुल निर्माण गरिरहेको छ। २७ महिनामा सक्ने गरी माघ २०७८ मा रायमाझी कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको मोहना पुलको भौतिक प्रगति हालसम्म १५ प्रतिशत मात्र रहेको खड्काले बताए। उनका अनुसार १२ करोड १३ लाखमा यो पुल निर्माणको ठेक्का भएको हो । तीनै ठाउँमा साबिकको पुलको दुवैतिर नयाँ पुल बनाएर ६ लेन बनाउन लागिएको हो ।
मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर लामो पहिलो खण्डको काम शर्मा–अमर–नागार्जुन जेभीले गरिरहेको छ। बोराडाँडीदेखि गेटासम्म साढे चार किलोमिटर दोस्रो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे तथा गेटादेखि–अत्तरियासम्म तेस्रो खण्डमा लामा–राजेन्द्र–डाँफेले ठेक्का लिएको छ। करिब एक अर्ब ६५ करोडको लागतको यो आयोजनाको बाँकी काम लामो समयदेखि ठप्प छ। ६ लेन सडकको काम पूरा नहुँदै मोहना पुल–अत्तरिया सडक आयोजना कार्यालयलाई गत असोजमा कञ्चनपुरस्थित महाकाली पुल आयोजना कार्यालयमा गाभिएको छ।
यता ६ लेन सडक निर्माण भएको एक बर्षमै भत्किन थालेको छ। दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रमा छ लेन सडक भत्कनुका साथै भासिन थालेको हो। पूर्व लेनको धनगढी एयरपोर्ट गेट, आरपी मिल क्षेत्रमा छ लेन सडक भत्किरहेको छ। यसैगरी गाडी हिँडेपछि धेरै ठाउँमा सडक भासिएको छ। सडक निर्माण गर्दा रोलरले राम्ररी नदबाइएकाले सडक भत्कन र भासिन सुरु भएको स्थानीयको भनाइ छ। गोदावरी नगरपालिका–५, गेटाका व्यवसायी सुदीप रानाले निर्माण कम्पनीको लापरबाहीका कारण एक वर्षमै सडक बिग्रिन थालेको बताए। बाटो राम्ररी नदबाइएको र सडक बिग्रेपछि दुर्घटनासमेत हुन थालेको उनको भनाइ छ ।
