
काठमाडौं : आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर नेकपा (एमाले) बाट एक जना, जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपराष्ट्रपति पदका लागि एमालेका नेत्री अष्टलक्ष्मी शाक्य, जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव, जसपाका राष्ट्रिय सभा सदस्य प्रमीलाकुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् । शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरू छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट थिए । उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन् । त्यस्तै, यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी हुनुहुन्छ भने भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका थिए । यसैगरी, प्रमीलाको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव हुनुहुन्छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिस सुमन रहेका छन् ।
त्यस्तै, झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव हुनुहुन्छ भने समर्थकमा गोमा लाभ सापकोटा, विनीता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका थिए । यता, निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिनुभएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित हुनुभएको उल्लेख गरे । उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम) बाट उम्मेदवार छन् ।
