दुर्गालक्ष्मीको स्ववियु सभापतिमा अनेरास्ववीयुबाट सुवेदीको उम्मेदवारी घोषणा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि अनेरास्ववीयु क्याम्पस कमिटीले उम्मेदवार सार्वजनिक गरेको छ । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववीयुले) आज क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी सभापतिमा पुष्प सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

आउदो चैत्र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सभापतिमा सुवेदीको नाम क्याम्पस कमिटीले एकल सिफारिस गरेको थियो । स्ववियु निर्बाचन नजिकिएसंगै कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले तयारी तिब्र गरिरहेको छ ।

सभापति पदमा मात्रै उम्मेदवारी घोषणा गरेको अनिरास्ववियुले अन्य पदमा अन्य संगठनहरुसंग सहकार्य गरेर अगाडी बढ्ने जनाएको छ । यसका लागि बिभिन्न संगठनहरुले प्रस्ताव राखेको र कुरा पनि भइरहेको अनेरास्ववीयु क्याम्पस कमिटीले जनाएको छ । क्याम्पसको सुधारका लागि प्राथमिकतामा राखेका संगठनहरुसंग सहकार्य हुन सक्ने बताईएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सभापतिका उम्मेदवार सुवेदीले दुर्गालक्ष्मीमा लामो समय देखि रहेका समस्या सामाधानका लागि आफू अग्रसर हुने बताए । उनले विद्यार्थीका हक हितका कुरालाई बुलन्द आवाजका साथ अगाडी बढाउने र विद्यार्थीको चौतर्फि विकासका लागि सहयोग पुग्ने क्रियाकलापमा आफु खटिदै आएको पनि बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता गरे ।

सुदूरपश्चिम विश्वविद्यालयमा गाभिएपछि दुर्गालक्ष्मीले आफ्ना थुप्रै अधिकारहरु खोज्नुपर्ने बेला भएकाले उनले विद्यार्थीहरुले पछिल्लो समय नयाँ पाठ्यक्रमको खोजी गरेको अवस्थामा त्यसको परिपुर्तिका लागि आफूले पहल गर्ने बताए । नयाँ पाठ्यक्रम संगसंगै बिभिन्न कुराहरुको परिवर्तनका लागि दुर्गालक्ष्मीबाट परिवर्तनको आवाज उठाउन आवश्यक रहेको उनको भनाई छ । विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुसार आज फागुन २८ गते मतदाता सूची प्रकाशित गर्ने, चैत १ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मौन अवधि सुरू हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.