धनगढी : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेको वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको बताएका छन् । एमालेको ग्रास रुट अभियानको क्रममा कैलालीस्थित गोदावरीको एक कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन् ।
अहिलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अन्तैबाट चलिरहेको र सरकारलाई समर्थन गर्ने दश दलीय गठबन्धन परिचालित रहेको भण्डारीले दाबी गरे । उनले भने, ‘अन्तकै आदेश र इसाराबाट अहिलेको सरकार चलिरहेको छ । अहिले अन्तैबाट कोही आउने एकैपटक सबैलाई भेटेर निर्देशन जारी गर्ने र त्योलाई अक्षरसः पालना गर्ने प्रवृत्ति देखिएको छ । उताबाट आदेश आउँछ, यता दशदलीय गठबन्धन आदेश पालना गर्छ । आज नेपालको राज्य सत्ता बाहिरबाट चलिरहेको छ । यस्ता कारणले यो सरकारप्रति सबै क्षेत्रमा निराशा पैदा भएको छ ।’
यस्तै उनले अहिलेको सरकार राष्ट्रिय समस्याबाट भागिरहेको र समस्या समाधान गर्न छाडेर आदेश पालनामा लागेको आरोप लगाए ।
घेराबन्दीमा एमाले : फरक सन्दर्भमा बोल्दै उनले नेकपा एमाले सदैव घेराबन्दीमा परिरहेको बताए । एमालेले ३२ सिटको नेता प्रचण्डलाई प्रधानमन्त्री बनाएको र १० सिटको मान्छेलाई राष्ट्रपति बनाउन खोजेको पनि उनले बताए । ‘अहिले एमाले र कम्युनिष्ट आन्दोलनलाई टुटफुट बनाउन खोजिएको छ’, उनले भने, ‘यसअघि हाम्रो एमालेले ३२ सिटको नेता प्रचण्डलाई प्रधानमन्त्री बनायो । त्यसपछि १० सिटको मान्छेलाई राष्ट्रपति बनाउन खोज्यो । तिनै मान्छेले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिलाई राज्य सत्ता बुझाएर उनीहरूको शरणमा गए ।’
त्यस्तै उनले एमालेको नेतृत्वमा बसेका व्यक्तिहरू सच्चिनुपर्ने जिकिर गरे । पार्टीमा अवसरवादबाट प्रेरित नभएर नेताहरू नीति, विचार र पार्टीको आवश्यकता र औचित्यबाट निर्देशित हुनुपर्ने उनले बताए । अवसरवादका कारणले एमाले पार्टी कमजोर हुने उनको भनाइ छ ।