वामपन्थी घटकहरूलाई एमाले भित्र गोलबन्द हुन सचिव भट्टको अपिल

अत्तरिया, ३० फागुन : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरूलाई एमाले भित्र गोलबन्द हुन अपिल गरेका छन् ।
नेकपा एमाले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको नगर स्तरीय जनसङ्गठनहरूको संयुक्त मिसन ग्रासरुट सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भट्टले वामपन्थीलाई एमाले भित्र केन्द्रित हुन अपिल गरेका हुन् । उनले त्यसको नेतृत्व भने एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।
‘सबै वामपन्थीहरू अब एमाले भित्र केन्द्रित हौँ, त्यसको नेतृत्व केपी शर्मा ओलीले गर्नुहुन्छ’ उनले भने, ‘वामपन्थीहरू सबैको गन्तव्य अब एमाले हो ।’
अघिल्लो निर्वाचनमा एमाले भित्रैका कारणहरूले परिणाम सोचे अनुसार आउन नसकेको भट्टले बताए । उनले ग्रासरुटले बिगतका सबै समस्या हल गर्ने विश्वास व्यक्त गरे ।
‘जनताले एमालेलाई कसरी बुझेका छन् भन्ने बिषयमा ग्रासरुटले प्रस्ट पार्ने छ’ उनले भने ‘त्यसका लागि घर घर सम्म पुगेर पार्टीका बिषयमा सुझाव संकलन गर्नुहोला ।’ कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सह इञ्चार्ज गणेश ठगुन्नाले मिसन ग्रासरुटले पार्टीलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.