अत्तरिया : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवार लोकराज ओझा (एलआर) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गरेको छ । । अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवार बनेका ओझालाई रास्वपा र राप्रपाले समर्थन गरेका हुन ।
बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरेर दुवै पार्टीले स्ववियु सभापतिमा स्वतन्त्र उम्मेद्वारी दिएका ओझालाई समर्थन गर्ने घोषणा गरेका थिए । रास्वपका प्रदेश सदस्य हेमन्त जोशीले आफूहरुले स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका ओझा उपयुक्त उम्मेदवार भएकाले समर्थन गरेको बताए । उनले आफ्नो पार्टीको विद्यालय÷क्याम्पसमा राजनीतिक गतिबिधि नगर्ने भएकाले स्वतन्त्र रुपमा उठेका उम्मेदवारलाई समर्थन गरेको बताए ।
राप्रपाका प्रदेश ‘ख’ सचिव विराज बिष्टले विद्यालयमा राजनीतिका नाममा राजनीति मात्रै भएकाले आफूहरुले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको बताए । राप्रपाका गोदावरी नगर कमिटी अध्यक्ष दुर्गा पोखरेलले एल आर ओझा सक्षम व्यक्ति भएकाले आफूहरुले समर्थन गरेको बताए । स्वतन्त्र राजनीतिको वकालत गर्दै आएका पुष्कर शर्मा जोशीले विद्यार्थीको राजनीनि विद्यार्थीले नै गर्न पाउनु पर्ने बताए ।
उनले भिजन भएका विद्यार्थी एलआर ओझाले स्वतन्त्र उम्मेदवारी दिएकाले उनलाई आफूले पनि समर्थन गरेको बताए । उनले विगतमा एलआर ओझा नेविसंघमा जोडिएको भनिएपनि उसले विगतमा गरेका गतिविधि पार्टी भन्दा माथि उठेर अगाडी बढाएकाले आफूहरुले समर्थन गरेको बताए । स्वतन्त्र उम्मेदवारी दिएका ओझा स्वावियु निर्वाचनमा टीम बनाएर चुनाव लड्दै छन । उनको टिमबाट सचिवमा दिनेश बडु, कोषध्यक्षमा देवकी बोहरा उम्मेदवार छन । यस्तै सदस्यहरुमा धन बहादुर बोहरा, यमुना भट्ट, निराजन कडेल, पुष्प ओझा, दिपेन्द्र बोहरा र सन्तोष भट्ट रहेका छन ।