अत्तरिया : अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हुन गईरहेको आसन्न स्ववियु निर्वाचनका लागी स्वतन्त्र विद्यार्थी समुहले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेको छ । स्वतन्त्र विद्यार्थी समुहका तर्फबाट स्ववियु सभापतिमा उम्मेदवारी दिएका सरोज ठगुन्नाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी एजेण्डाहरु सार्वजनिक गरेका थिए ।
उनले सर्वप्रथम क्याम्पसमा वार्षिक शैक्षिक तालिका (क्यालेन्डर) बनाउने बताएका छन । विद्यालयमा कुन समयमा के गर्ने भन्ने विषयको कुनै टुङ्गो नहुने हुँदा विद्यार्थीहरु अन्योलमा पर्ने गरेकाले शैक्षिक क्यालेन्डर बनाएर विद्यार्थीहरुलाई प्रदान गरिने बताए । उनले त्यसपछि विद्यार्थीले अध्ययन गरिरहेको बिषय अनुसारको अतिरिक्त क्रियाकलाप र व्यवहारिक कार्यक्रम क्याम्पसमा लागू गराउने बताए । स्वतन्त्र विद्यार्थी समुहका तर्फबाट ठगुन्नाले कलेजमा हुने अनावश्यक दलिय राजनीतिक, अनुउत्पादन कार्यक्रम र विद्यार्थीको पठनपाठनमा हुने बाधाहरूको अन्त्य गरि क्याम्पसलाई एक देशकै उत्कृष्ट शैक्षिक वातावरणको रुपमा निर्माण गर्ने, पहुँचका भरमा छात्रवृत्ति पाउने गलत परिपाटीको अन्त्य गरि वास्तविक विपन्न र आवश्यक भएकालाई छात्रवृत्ति दिने संस्कारको बिकास गर्ने, विद्यार्थी विपत कोषको निर्माण गरि आम विद्यार्थीमा सामाजिक कार्य गर्न प्रेरित गराई समुदाय स्तरमा क्याम्पसको छवि गौरवमय बनाउने लगायतका एजेण्डाहरु प्रस्तुत गरेका थिए ।
त्यसका साथै विभिन्न सरकारी, गैरसरकारी र वित्तीय संस्थाहरूसंग समन्वय गरि क्याम्पस भित्र र बाहिर विद्यार्थीको चौतर्फी बिकासका लागि कार्यक्रम गर्ने, क्याम्पस परिसर सुन्दर बनाउन शिक्षा मित्रपार्क, साईकल पार्किङ, फोहोरको उचित व्यवस्थापन, स्वच्छ खानेपानी, सफा शौचालय र प्रविधिमैत्री कक्षकोठाहरू निर्माण गर्ने, नियमित ६\६ महिनामा क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम मार्फत विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने, देशका उत्कृष्ट क्याम्पस र मित्र राष्ट्र भारतका क्याम्पस संग मितेरी सम्बन्ध राखी शैक्षिक अनुभव आदानप्रदान गर्नुका साथै असल अभ्यास कार्यान्वयन गर्ने र विद्यार्थी बिच समताको विकासको अवधारणामा कार्य गरिने समेत स्वतन्त्र विद्यार्थी समुहले जनाएको छ ।
विद्यार्थीहरूले अरुको चोरी नतिजा निकाल्ने गलत परम्पराको अन्त्य गरि अनुसन्धान गर्न प्रेरित गरि राष्ट्रका लागि योग्य व्यक्ति निर्माण गर्ने कार्य तथा पहाडबाट आएका विद्यार्थीका लागि छात्रावास, टाढा बाट आउने विद्यार्थीका लागि क्याम्पस बस, सफा शौचालय, झ्यालढोकाको व्यवस्था, व्यवस्थित खेलमैदान, खेल सामग्री र भ–ष्दिचबचथ ट्रेकिङका लागि हल आदिको व्यवस्था गर्न पहल गर्ने समेत स्वतन्त्र विद्यार्थी समुहले प्रतिबद्धता व्यक्त गरेको छ ।