सुदूरपश्चिमा भिटौलाको रौनक

अत्तरिया : सुदूरपश्चिममा भिटौलाको रौनक सुरु भएको छ । यहाँको सहरी क्षेत्रमा त्यति यस पर्वको महत्व नभए पनि ग्रामिण क्षेत्रमा भिटौलाको रौनक बढको छ । विशेषगरी सुदूरपश्चिमका, डडेल्धुरा, बैतडी, दार्चुला लगायतका जिल्लामा मनाईने पर्वमा चैतको महिना विवाहित छोरीबेटीहरुलाई माइतीले भेट्ने चलन रही आएको छ । विवाहित दीदीबहिनीहरुलाई दाजुभाईले कोसेलीसहित भेट्ने चलन रही आएको हो ।
माइती पक्षकातर्फबाट कोसेलीसहित दिदि बहिनीहरुको घरमा पुग्ने चलन रहेको दशरथचन्द नगरपालिका–२ की पार्वती बोहराले बताइन् । उनले भनिन् ‘चैतको महिना हरेक बर्ष विवाहित छोरीबेटीहरुलाई भेट्ने चलन रही आएको छ । माइती पक्षले यो महिना भेटघाट गर्दा खुसी लाग्ने गरेको छ ।’
परापूर्वकालदेखि नै यो क्षेत्रमा चैतको महिना माइती पक्षले छोरी बहिनीहरुलाई भेटघाट गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । उनले भने, ‘पहिला–पहिला सञ्चारका साधनहरु पनि थिएनन् । सानै उमेरमा बिहे गरिदिने चलन थियो । माइती पक्षको छोरी बहिनीहरुलाई नियास्रो पनि लाग्ने गरेको थियो । त्यसैले माइती पक्षले कोसेलीसहित भेटघाट गर्ने चलन चलेको हो । यो चलन अहिले पनि छ ।’
चैतको महिनाको शुरुदेखि महिनाभरी विवाहित छोरीबैनीहरुलाई भेट्ने चलन रही आएको बैतडी दशरथचन्द नगरपालिका १ का मञ्जु भट्टले जानकारी दिइन् । यो महिनाको भेटघाटले माइतीको नियास्रो मेटिने गरेको उनले बताइन् । माइती पक्षले मिठामिठा परिकार सहित छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको छ ।
कोसेलीसहित माइतीहरु छोरीबैनी भेट्नका लागि पुग्ने गरेका छन् । हरेक बर्ष चैतको महिना छोरीबैनीहरुलाई भेट्ने चलन रही आएको दार्चुलाका स्थानीय गंगासागर जोशीले बताए । यो महिना छोरीबैनीहरुसंग भेटघाट गर्ने महिना भएकाले भिटौलाको रौनक शुरु भएको जोशीले बताए । उनले भने ‘भिटौलाले छोरीबैनीहरुसंग माइती पक्षको आत्मीयता अझै बढाउने गर्दछ । यसका साथै छोरीबैनीहरुको अवस्थाका बारेमा माइती पक्षलाई समेत थाहा हुने भएकाले यो निकै राम्रो चलन रहेको छ ।’
बैतडी, दार्चुला लगायतका जिल्लाहरुमा चैतको महिनामा माइती पक्षले छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको र यसैलाई भिटौलो भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । पहाडबाट तराईमा बसाईसरेकाहरु पनि भिटौलो चलन मनाउँदै आएका छन् । चैतको महिना दीदीबहिनीहरुलाई नभेट्दा अपशकुन हुन्छ भन्ने मान्यता समेत रही आएको लेखकले बताए । पहिला भिटौला जाँदा घरमै उपलब्ध चीजवस्तुहरु लिएर जाने चलन थियो तर, पछिल्लो समयमा बजारका सामग्रीहरु किन्ने चलन पनि बढेको छ । भिटौलाका कारण चैत महिनामा बजारहरुमा पनि चहलपहल बढ्ने गरेको व्यापारीहरुले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.