Agni Offset Press

लागुऔषधको जालो भत्काउँदै प्रहरी, ७१३ जना पक्राउ

Aarati simant

कञ्चनपुर : कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका ७१३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई कारबाहीका लागि जिल्लाभर सक्रियता देखाएको छ ।
संलग्नलाई कारबाहीदेखि युवापुस्ता, विद्यार्थी र अभिभावकलाई लागुऔषध नियन्त्रणका लागि सचेतना कक्षासमेत यहाँका सबै पालिकामा सञ्चालन गरिरहेको प्रहरीले खुला सीमानाका भएका कारण लागुऔषधको कारोबार बढेको औँल्याएको छ । आर्थिक वर्ष २०७६÷७७ यता मात्रै लागुऔषध मुद्दामा प्रहरीले सात १३ जनालाई नियन्त्रणमा लिइ कारबाही प्रक्रियामा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक भरतराज गिरीले जिल्लाभरि नै लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढिरहेको बताए ।
उनले प्रहरी सक्रियताकै कारण ओसारपसारमा संलग्न पक्राउ पर्नेक्रम पनि बढेको बताए । झन्डै एक दशकअघि यहाँ चरेशलगायतका लागुऔषधको कारोबार हुने गरेका घटना बाहिरिने गरेको भए पनि पछिल्ला वर्षमा खैरो हेरोइनको कारोबार ह्वात्तै बढेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार चालु आवमा यहाँ लागुऔषध मुद्दामा एक सय ५७ जना पक्राउ परेका छन् । त्यसमा एक सय ४८ नेपाली र नौ भारतीय नागरिक रहेका छन् । चालु आवको फागुन मसान्तसम्म लागुऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएका छन् । प्रहरीले सो अवधिमा २६ किलो चरेश, चार सय १३ दशमलव ६० ग्राम खैरो हेरोइन, नाइट्राभेट, फेनारगन, एम्पुल, रेक्सोजेसिक, डाइजापाम लगायतका लागुऔषध बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले गत आव २०७८\७९ मा लागुऔषधसम्बन्धी एक सय ४३ मुद्दा दर्ता गरेको थियो। त्यसमा दुई सय २६ नेपाली र १३ भारतीय नागरिक गरी दुई सय ३९ जनालाई पक्राउ गरिएको थियो । गत आवमा प्रहरीले यहाँ ३३ किलो नौ सय ८५ ग्राम चरेश, पाँच सय ८० दशमलव शून्य ६० ग्राम खैरो हेरोइन लगायतको लागुऔषधसमेत अभियुक्तबाट बरामद गरेको थियो ।
यहाँ पछिल्लो समय खुला सीमानाका कारण भारतका विभिन्न ठाउँबाट खैरो हेरोइन बढी मात्रामा आयात हुने गरेको छ । खुला सीमानाका लागुऔषध ओसारपसारमा भारतीय सुरक्षा निकायको बेवास्ता लगायतले यहाँ प्रहरीका लागि यसको नियन्त्रण मुख्य चुनौती बनेको हो । कञ्चनपुरका सीमानाकाबाट लुकीछिपी आयात हुने गरेको खैरो हेरोइन सुदूरपश्चिमका पहाडी जिल्लामा समेत जाने गरेको विगतका घटनाक्रममा देखिएको प्रहरीकै भनाइ छ । लागुऔषध न्यूनीकरणका लागि भन्दै प्रहरीले यहाँका विभिन्न विद्यालय, सार्वजनिक स्थानमा सचेतना कक्षा सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालयको नेतृत्व तह नै लागुऔषधसम्बन्धी सचेतना कक्षा सञ्चालनमा सक्रिय छ । प्रहरीले लागुऔषध सवेनकर्ताबाट समाजमा अन्य आपराधिक क्रियाकलाप बढी हुने गरेको दाबीसमेत गरेको छ ।
चालु आवको फागुनसम्म मात्रै प्रहरीले चार सय १४ दशमलव ६० ग्राम खैरो हेरोइन बरामद गरिसकेको छ । यहाँ सबैभन्दा बढी बेलौरी, पुर्नर्वास, बेल्डाँडी, शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा यसको कारोबार बढी हुने गरेको प्रहरीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.