धनगढी : सुदूरपश्चिममा कैलाली लगायतका जिल्लामा आज बिहानैदेखि मुसलधारे वर्षा भइरहेको छ । प्रि–मनसुन अवधि सुरु भएको तेस्रो साताबाट यहाँ केही दिनदेखि नै मौसम बदली रहँदै आएको हो । तीन दिन अगाडिमात्रै पनि हल्का वर्षा भएको थियो ।
वर्षाको पानी खल्ला जमिनमा भरिन थालेको छ । कतिपय ठाउँमा वर्षाको पानी जमेर मान्छेको घरभित्र पनि पस्न थालेको छ । धनगढीको पार्कमोडस्थित मुख्य बजार क्षेत्रको सडकमा पानी जम्न थालेको छ । मसुरो, तोरी काटेर भित्र्याउने बेला भएको वर्षाले त्यस्ता बालीलाई क्षति गर्ने सम्भावना बढेको छ ।
जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ, हावाहरु, असिनासहित क्षणिक वा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।