अत्तरिया, ७ चैत : यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धित धनगढीमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फाया नेपाल धनगढी र आईपास नेपालको साझेदारीमा सञ्चालित सुरक्षित गर्भपतन परियोजना अन्तरगत कार्यक्रम भएको हो । कार्यक्रममा आइपासका कानूनी सल्लाहकार माधवी बज्राचार्यले सुरक्षित गर्भपतनमा कानुनी व्यवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेकी हुन् । उनले गर्भपतन गराउने स्वास्थ्य संस्थाबारे कतिपय महिलालाई जानकारी नहुनु र जथाभावी औषधि सेवनले पनि मातृ मृत्युदर बढेको बताइन् । ‘गर्भपतन गराउन कुन–कुन संस्थाले मान्यता पाएको छ वा गर्भपतन गराउने व्यक्तिले त्यो सम्बन्धी तामिल लिएको छ वा छैन पनि थाहा पाउनुपर्छ,’ उनले भनिन्,’ ‘कति हप्तासम्मको गर्भपतन गराउन मिल्छ भनेर पनि थाहा पाउनुपर्ने हुन्छ ।’
उनका अनुसार नेपालमा अहिले पनि सात प्रतिशत महिला गर्भपतनका क्रममा ज्यान गुमाउँछन् । उनले पत्रकारहरुले गर्भपतन सम्बन्धी नेपालमा बनेका ऐन कानुनबारे कलम चलाउँदा पनि चेतना वृद्धि हुने विश्वास व्यक्त गरिन् ।
यस्तै कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीकी सिनियर नर्सिङ निरीक्षक रमा गिरीले कैलालीमा सुरक्षित गर्भपतनका लागि भईरहेका प्रयासका बारेमा जानकारी गराइकी थिईन् । उनले कैलालीका ५३ वटा सुरक्षित गर्भपतन केन्द्रहरुमा ४३ बाट सेवा दिईरहेको बताईन् । १० वटा सुरक्षित गर्भपतन केन्द्रबाट जनशक्ति नहुँदा सेवा दिन नसकेको उनको भनाई छ । उनले राजनीतिक रुपमा पटक–पटक हुने कर्मचारीहरुको सरुवाले गर्दा सेवा प्रवाहमा केहि समस्या हुने गरेको बताईन् ।
उनले जिल्लाको विभिन्न २१ वटा केन्द्रबाट किशोर÷किशारीहरुलाई परामर्श दिने काम भईरहेको जानकारी गराईन् । यस्तै कार्यक्रममा फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले गर्भपतनका लागि बनेका कानुन पालना गर्नमा सबैले आ–आफ्नो क्षेत्रबाट लागि परेमा समाज आफै परिवर्तन हुने बताए । उनले सामाजिक कुरुतीका कारण पनि केहि समस्या भईरहेको बताए । अन्तरक्रिया कार्यक्रममा कैलालीमा विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु