
अत्तरिया : कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको काम सुस्त छ । हुलाकी राजमार्ग र राजमार्गको लिंक सडक गरी कैलालीमा साढे ७३ किलोमिटर सडकलाई एक लेनबाट सात मिटर चौडा गरी दुई लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ । यो सडक यसअघि भारत सरकारको सहयोगमा भारतीय कम्पनीले कालोपत्रे गरेको थियो । साढे ७३ किलोमिटर सडकलाई सातवटा खण्डमा छुट्याएर स्तरोन्नति भइरहेको हो । सबै खण्डको ३० महिनाको निर्माण अवधि सकिए पनि भौतिक प्रगति भने उत्साहजनक छैन ।
धनगढी क्याम्पस रोडदेखि पूर्व तीन किलोमिटर चार लेनसहित सात किलोमिटर खण्डको निर्माण अवधि गत पुसमा सकिएको थियो । निर्धारित अवधिमा करिब ६५ प्रतिशत मात्र काम भएपछि एक वर्ष थप गरिएको छ । धनगढीको कटैनी खोलादेखि फूलबारीसम्म १२ किलोमिटर खण्डमा ४५ प्रतिशत, फूलबारीदेखि कैलारीसम्मको १२ किलोमिटर खण्डमा ३० प्रतिशत र कान्द्रादेखि सत्तीबजार कर्णाली पुलसम्म १३ किलोमिटर खण्डमा हालसम्म २५ प्रतिशत मात्र प्रगति रहेको आयोजना कार्यालयले जनाएको छ ।
हुलाकी राजमार्गको लिंक रोडको रूपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीदेखि टीकापुर सत्तीसम्मको साढे २९ किलोमिटर सडक स्तरोन्नतिको काम पनि सुस्त छ । यसमध्ये साढे सात किलोमिटर सडक चार लेनको बन्दै छ । ३० महिनाको अवधिमा लम्कीदेखि आठ किलोमिटरको पहिलो खण्डमा ७० प्रतिशत, १० किलोमिटर लामो दोस्रो खण्डमा ३५ प्रतिशत र साढे ११ किलोमिटर लामो तेस्रो खण्डमा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी सुनारले जानकारी दिए ।
