Agni Offset Press

‘समाचार लेखेकै कारण पत्रकारमाथि आक्रमणका घट्ना बढेका छन्’

Aarati simant

अत्तरिया : समाचार लेखेकै कारण पत्रकारमाथि आक्रमण तथा धम्की दिने तथा सुरक्षा चुनौति बढ्दै गएको सञ्चारकर्मीहरुले गुनासो गरेका छन् । राजनीतिक दलका अभिव्यक्ति, समाजिक सञ्जालको दुरपयोग, सञ्चारमाध्यको विषयबस्तुमाथि अविश्वास बढ्नु लगायतका कारण आम पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको उनीहरुले बताएका हुन् ।
नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश कमिटि तथा कैलाली शाखाको संयूक्त आयोजनामा धनगढीको शुभम होटलमा आयोजित ‘आजको पत्रकारिता, पत्रकारको पेशागत सुरक्षा र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम’मा धारणा व्यक्त गरेका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा उठान हुने विषयवस्तुलाई अझ विश्वसनिय बनाउन समस्या र चुनौतिसंग जुध्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

साहित्यकार तथा पत्रकार नवराज लम्सालले समयको माग अनुसार पत्रकारिता क्षेत्र पनि सुधार हुन आवश्यक रहेको बताए । उनले राजनीतिक, आर्थिक, सामाजिक चुनौतिसंग जुध्दै पत्रकारितालाई अझ विश्वसनिय र निष्पक्षता बनाउनतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उनले अब राजनीतिक घटनाक्रम भन्दा पनि विकास पूर्वाधार तथा सामाजिक समस्या सम्बोधन हुने गरि पत्रकारिता जगतले काम गर्नुपर्ने बताए । उनले पत्रकारले राजनीतिकसंगै शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन लगायतका विषयमा उजागर गर्न आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव हेमकर्ण विकले पत्रकार आचारसंहिताको पालना गर्दै आम पत्रकारले विश्वसनिय र निष्पक्ष ढंगले समाजका समस्या, विकासका मुद्दाहरुको उठान गर्न आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाहले पत्रकारिता क्षेत्र सुरक्षित हुन नसक्ने बताउँदै असुरक्षाको सामना गर्दै समाजमा भईरहेका विकृति, विसंगति विरुद्ध पत्रकारको कलम चल्न आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार चित्रांग थापा, लेखासमिति सदस्य मुकुन्द भण्डारी, पूर्व केन्द्रिय सदस्य दिलबहादुर छत्याल, उमिद बागचन, पत्रकार शिवराज भट्ट, टेकेन्द्र देउवा, नेपाल प्रेस युनियन कैलाली अध्यक्ष श्रवण देउवा, नेपाल प्रेस चौतारी कैलाली अध्यक्ष भानुभक्त जोशी, नेपाल प्रेस युनियन कैलाली सचिव सीताराम ओझा, पत्रकार रमा चन्द, भावना जोशी, दीनेश विष्ट लगायतले पत्रकारको सुरक्षा चुनौति, पत्रकारिता क्षेत्रमा भोग्नु परेका समस्या, समाधान लगायतका बारेमा धारणा व्यक्त गरेका थिए । समाजका विकृति, विसंगतिबारे उजागर गर्दा पत्रकारनै असुरक्षित बनिरहेको उनीहरुको गुनासो रहेको थियो ।

नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमालय जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रदेश सचिव हरि जोशीले गरेका थिए ।
दिवसको पूर्वसन्ध्यामा धनगढीको ट्राफिक चौराहादेखि बुद्धचौकसम्म आयोजित र्यालीमा महासंघका अध्यक्ष, पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारको सहभागिता रहेको थियो । दिवसको अवसरमा निशुल्क आँखा शिविर तथा परिक्षण गरिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.