अछाम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताबाट अनुमोदन भएका योजनालाई मात्र प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । अछामका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका मुख्य मन्त्री शाहले आज साँफेबगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारलाई आम नागरिकको सरकार बनाउनतर्फ आफ्नो नेतृत्व लागिपरेको बताए । मुख्य मन्त्री शाहले प्रदेशका योजनाका बारेमा स्थानीय सरकारलाई जानकारीबिना अब कुनै पनि योजना पास नगर्ने भन्दै सामूहिक रुपमा आएको साझा योजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गराउने बताए ।
मुख्यमन्त्री शाहले साना साना टुक्रे योजना,व्यक्तिगत योजना र कमिस र झ्यालबाट आउने योजनाको अन्त्य आफ्नो कार्यकालमा हुने र यसका लागि कर्मचारी जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन पक्षमा कोहि कसैसँग पनि सम्झौता गर्ने बताए ।
यस्तै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले पहाडको बसाइसराई रोक्न यहाँका आधारभूत आवश्यकता परिपूर्ति गर्नतर्फ लाग्नु पर्नेमा जोड दिए । उनले यहाँको शिक्षा,स्वास्थको आधारभूत आवश्यकता र रोजगारको क्षेत्रमा विशेष योजना बनाएर अगाडि बढ्न सके मात्र बसाइसराई रोक्न सकिने बताए। यसो हुन नसके अबका केहि वर्षमा पहाडका गाउँबस्ती रित्तिने बताए । मन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि नयाँ सोच र योजना बनाएर अहिलेको सरकारले विकासको नमूना खडा गर्ने दावी गरे।