अत्तरिया : धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूको दबाबमूलक कार्यक्रममा पाँच संगठनहरुले समर्थन जनााएका छन् । तलब भत्ता पाउनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम अघि बढाएका स्वास्थ्यकर्मीहरूलाई ५ वटा संघसङ्गठनहरूले समर्थन जनाएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलाली, नेपाल निजामती कर्मचारी सगंठन कैलाली, नेपाल राष्ट्रिय कर्मचारी सगंठन निजामती कैलाली, एकीकृत सरकारी कर्मचारी सगंठन नेपाल कैलालीले समर्थन जनाएका छन । उनीहरुले विज्ञप्ति जारी गर्दै स्वास्थ्य कर्मचारीको आन्दोलनमा एक्येबद्धता जनाएका छन् । ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारी खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत दिइने उल्लेख थियो। तर कर्मचारीले ६ महिनादेखि तलब पाउन सकिरहेका छैनन् ।
मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै सबै स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरेको थियो। तर पनि स्वास्थ्य सेवाका कर्मचारीले तलब पाउन सकिरहेका छैनन् । मन्त्रीस्तरले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिले स्वास्थ्य सेवाका कर्मचारी आन्दोलित छन् । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले दरबन्दीभन्दा बढी कर्मचारी रहेका कारण तलबभत्ता दिन समस्या भएको बताउँछन् ।