अछाम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अछाममा रहेको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रमा पुगेर अवलोकन गरेका छन्। रामारोशनमा रहेको पर्यटकीय क्षेत्र बाट्टुला ताल, जिगले ताल र रोशन चउरको स्थलगत अवलोकन गरेका हुन्।
साथै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, सुदूरपश्चिम प्रदेशसभा सदस्य झपटबहादुर साउँद, रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँद जनप्रतिनिधि, कर्मचारी, स्थानीयहरूको सहभागीता रहेको थियो। रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो।
बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन पर्यटकीय सम्भावना बोकेको ठाउँ हो। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।
स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार गठन भइसकेपछि पर्यटन क्षेत्रको विकासका लागि ठोस निति ल्याउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताए। पर्यटन क्षेत्रको विकास गर्नसकेमा समग्र क्षेत्रको विकास हुने र पर्यटन क्षेत्रले आर्थिक सम्वृद्विमा महत्त्वपूर्ण टेवा पुग्नेमा जोड दिए। यस्तै भौतिक पुर्वाधार विकास मन्त्री देउवाले विगतको सरकारले तल्लो तहका सरकारसँग समन्वय नगरेको देखिएकाले यसपटक स्थलगत अवलोकनका पहिलोपटक रामारोशन पर्यटकीय क्षेत्रमा पुगेको बताए। मुख्यतः सडकको समस्या भएको बताउँदै मन्त्री देउवाले सडकको स्थलगत अनुगमन गरिसकेको र अब मन्त्रालयमा गएपछि सबै पक्षसँग छलफल गरेर समस्या समाधान तर्फ अगाडि बढाइने बताए।
सुदूरपश्चिम प्रदेशसभा सदस्य साउँदले विगतमा के भयो भन्नेमा भन्दापनि आगामी दिनहरूमा परिणाम देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। रामारोशन गाउँपालिकाका अध्यक्ष साउँदले स्थानीय तहले गर्न सक्ने अवस्था नरहेकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विकासमा जोड दिने बताए।