आजदेखि एसईईको परीक्षा : कैलालीमा १७ हजार बढी विद्यार्थी सहभागि हुँदै
परीक्षाहलमा तस्बिर लिन निषेध, जापानमा पनि परीक्षा केन्द्र
अत्तरिया : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । आज शुक्रवार बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सुदूरपचिम प्रदेशका नौ वटै जिल्लामा तयारी पुरा भएको शिक्षा विकास निर्देशनालय दीपायलले जानकारी दिएको छ । आज माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने भएको छ । सुदूरपश्चिममा दुई सय आठ वटा परीक्षा केन्द्र रहेको निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले एसईईका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भईसकेको बताए । उनले भने । ‘परिक्षा केन्द्रमा सुरक्षा व्यवस्था कडाई बनाइएको छ । आवश्यक उत्तरपुस्तिका सबै परिक्षा केन्द्रमा पुगिसकेका छन् । परिक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।’
प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । प्रदेशमा नियमित धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी छन् । सबैभन्दा बढी ५३ केन्द्र रहेको कैलालीमा १७ हजार सात सय ४२ विद्यार्थी र सबैभन्दा कम १२ केन्द्र रहेको डडेल्धुरामा दुई हजार ६ सय ८९ विद्यार्थी छन् ।
१२ केन्द्र रहेको डोटीमा तीन हजार सात सय ७२ विद्यार्थी, १५ केन्द्र रहेको बाजुरामा तीन हजार एक सय ६३ विद्यार्थी सहभागि हुने छन भने १८ केन्द्र रहेको बझाङमा चार हजार चार सय विद्यार्थी सहभागि संख्या रहेको निर्देशनालयले जनाएको छ । अछाममा पाँच हजार ७३ विद्यार्थी रहेकोमा २४ परिक्षा केन्द्र, दार्चुलामा दुई हजार नौ सय ७१ विद्यार्थी रहेका छन भने १६ परिक्षा केन्द्र कायम गरिएको छ । बैतडीमा पाँच हजार तीन सय ५१ परिक्षार्थी रहेकोमा २५ परिक्षा केन्द्र र कञ्चनपुरमा १० हजार दुई सय १५ परीक्षार्थी रहेकोमा ३३ परिक्षा केन्द्र कायम गरिएको छ ।
क्रमशः नियमिततर्फ कैलालीमा १६ हजार ६ सय ३०, ग्रेडतर्फ सात सय दुई र प्राविधिकतर्फ चार सय १० परिक्षार्थी रहेको निर्देशनालयले जनाएको छ ।
देशभर झन्डै पाँच लाख परीक्षार्थी
एसईईमा सहभागिता जनाउन यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा चार लाख ८४ हजार दुई सय २७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।
तस्बिर लिन निषेध
एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छन । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुनै गलत गतिविधि भएका प्रचलित कानुनअनुसार कारबाही हुने बताए ।
परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
विद्यार्थीका लागि एक मिनेट, एक सकेन्डको पनि महत्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बिन्धत निकायको व्यक्तिबाहेक पसेर अन्यलाई अनुगमन तथा तस्बिर लिने नाममा जथाभाबी परीक्षा हलमा नपठाइने भएको हो ।
७८ हजार जनशक्ति
एसईईका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी झन्डै ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
जापानमा पनि परीक्षा केन्द्र
बोर्डले यस वर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईईमा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।
त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने छ ।
परीक्षाको तालिका
एसईई परीक्षा चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने छ ।
त्यसैगरी चैत १९ गते आइतवार अनिवार्य गणित, चैत २० गते सोमवार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधवार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहीवार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ड एन्ड माकेर्टिङ, इन्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपेयरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।
यसैगरी चैत २४ गते शुक्रवार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिक धारतर्फ जलीय कृषि तथा मत्स्यपालन, इलेक्ट्रिकल म्यानेजमेन्ड एन्ड इन्स्टल्मेन्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेइङ र म्युजिक अफ नेपालको परीक्षा हुनेछ ।
यस्तै चैत २५ गते शनिवार साधारण तथा संस्कृततर्फ ऐच्छिक प्रथमपत्रका सबै विषयहरू, वेदविद्याश्रमतर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतवार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरू, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरू, प्राविधिक धारतर्फ भेजिटेबल एन्ड मेडिसिनल प्लान्ट प्रोडक्शन, डेरी एन्ड डेरी प्रडक्शन, युटिलाइजेशन अफ इलेक्ट्रिक इनर्जी, डाटाबेस म्यानेजमेन्ट सिस्टम, बिल्डिङ कन्स्ट्रक्शन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।
चैत २७ गते सोमवार प्राविधिक धारतर्फ क्रप प्रोडक्शन, स्मल रुमेन्ट प्रोडक्शन एन्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एन्ड सर्किट, वाटर रिसोर्सेस इन्जियरिङ र इन्स्ट्रयुमेन्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मङ्गलवार प्राविधिक धारतर्फ इन्डस्ट्रियल इन्टोमोलोगी एन्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेशिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एन्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २९ गते बुधवार प्राविधिकतर्फ नै फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याब्रोटरी टेक्निक, इन्ड्रस्ट्रियल इन्स्टलेशन एन्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेन्टेड प्रोग्रामिङ, इस्टिमेटिङ कस्टिङ एन्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, सङ्गीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।