
अत्तरिया : धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौं राष्ट्रिय अधिवेशनहुँदैछ । भोली शनिबार देखि सुरु हुने अधिवेशनको तयारी पुरा भएको परिषद्ले आज शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सुदूरपश्चिममा प्रदेशमा पहिलो पटक हुन लागेको अधिवेशन यहि चैत २० गते सम्म हुनेछ । ‘आत्मनिर्भर अर्थतन्त्र भ्रष्टाचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन’ भन्ने नारासहित हुन लागेको अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधिहरु सहभागि हुने परिषद्का महासचिव छितराज न्यौपानेले बताए । धनगढीको ओमपार्टी प्यालेसमा हुन लागेको अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको उनले बताए ।
अधिवेशनमार्फत देशको वर्तमान शैक्षिक परिदृष्य एवं वर्तमान शैक्षिक अवस्थाको सुधारका लागि शैक्षिक प्रस्ताव पारित गरिनेछ । त्यस्तै देशको वर्तमान सामाजिक, आर्थिक अवस्था र आत्मनिर्भर अर्थतन्त्र सम्बन्धि प्रस्ताव पारित गरिने जनाएको छ ।
अधिवशेनका उद्घाटन सत्रको प्रमुख अतिथि महालेखापरीक्षक टंकमणि शर्मा रहनेद्धन भने समापन समारोहमा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहने आयोजकले जानकारी दिएको छ । हरेक दुई बर्षमा हुने अधिवेशनबाट नयाँ राष्ट्रिय कार्यसमिति चयन हुने परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईले जानकारी दिए । नवौं राष्ट्रिय अधिवेशनमा पूर्व गभर्नर चिरञ्जीवी शर्मा, रमेश कँडेल प्रमुख वक्ता रहने प्राज्ञिक परिषद्ले जनाएको छ । अधिवेशनमा शिक्षक निरजकुमार साहलाई ‘राष्ट्रिय पृथ्वी युवा प्रेरणा’ पुरस्कार प्रदान गरिनेछ । परिषद्को यस अघिको ८ औँ अधिवेशन विराटनगरमा सम्पन्न भएको थियो ।
