
धनगढी : कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ को फाइनल प्रतिस्पर्धा यहीँ वैशाख ८ गते शुक्रवार हुँदै छ। उक्त प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागी न्याथन रायन पनि फाइनलमा पुगेका छन्। नाथन रायन कञ्चनपुरबासी हुन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका रायनले स्नातकसम्मको पढाइ महेन्द्रनगरस्थित अमिटी कलेजबाट गरेका छन्।
कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन्। मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन्। पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि रायनले ठुलो पर्दाको पनि अनुभव गर्न पाएका छन्। सन् २०१९–२० का लागि अमेरिकी दूतावास युथ काउन्सिल मेम्बर रायन आफूले कलेज पढ्दादेखि कविता लेख्न थालेको बताउँछन्।
‘काठमाडौंले कवि बनायो’
जागिरको सपना देखेका उनका साथीहरूले जागिर पनि खाए। कोही युरोप अमेरिकातिर हानिए। तर, रायन भने काठमाडौंमा आफ्नो सपना खोज्ने मनसायले महेन्द्रनगरबाट राजधानी पसे। संघीय राजधानीमा उनले आफ्नो परिचय खोजे। रातदिन संघर्ष गरे। आफ्नो अन्योल भविष्य र देशबारे आफ्ना भावनाहरू शब्दमा लेख्न थाले। जब लेख्न थाले उनले आफ्नो लेखाइमा आफ्नो परिचय देख्न थाले। नाटकघर जान थाले। कविताको भिडियो बनाएर अपलोड गर्न थाले। कतिले उनको कविताको शैली र शब्दमा खोट देखाए; कतिले उनको स्वरमा दम देखेनन्। तर, उनी लागिरहे निरन्तर–निरन्तर! काठमाडौंको मण्डला थिएटरमा आबद्ध भएर नाटक सिके। कविता लेखे र उनले नयाँ परिचय बनाए, ‘न्याथन रायन’।
महेन्द्रनगर पढ्ने बेला महाकालीमा अवस्थित दोधाराचाँदनी झोलुङ्गे पुलबाट पश्चिमतिर साँझपख देखिने सूर्यास्तको दृश्य हेर्न हरेक सप्ताहन्तमा त्यहाँ पुग्ने उनी आफूभित्र कविताको बिउ जन्मसँगै थियो कि भन्ने ठान्छन्। बिहानीको सूर्योदय अनि साँझको सूर्यास्त हेरेर रमाउने रायनले हरेक घटनालाई मान्छेको जीवनमा मेल खानेगरी लेख्ने प्रयास गरे। उनले रहरैरहरमा कविता लेखेका हुन्। तर, त्यसपछि ती रहर कतिखेर जीवनमा अनिवार्य कार्यतालिका बने, त्यो आफैँलाई थाहा नभएको रायन बताउँछन्।
लामो र बाक्लो दाह्री, लठ्ठा परेको लामो कपाल, घाँटीमा रुद्राक्षको माला अनि माहौल जमाउन सक्ने दमदार आवाज। अलग्गै पहिरनले मात्र हैन, रायनका शब्द र शैलीले अनि व्यक्तित्वले अहिले निकै चर्चा बटुलिरहेको छ। ‘द पोइट आइडल’ को फाइनल चरणमा पुगेका रायनले सुदूरपश्चिमबाट मनग्गे साथ समर्थन र माया पाउने विश्वास गरेका छन्। उनले सुदूरपश्चिमबाट सबैभन्दा बढी भोट पाउने आशा र विश्वास रहेको बताएका छन्। ‘द पोइट आइडल’ को अन्तिम नतिजाका लागि बैशाख ८ गतेसम्म समर्थक र शुभचिन्तकले भोट गर्नसक्ने छन्।
प्लेस्टोर एपको एप स्टोरबाट OSR कनेक्ट एप डाउनलोड गर्ने, साइन अप गरेर ‘द पोइट आइडल मा क्लिक गर्ने र Nathan Rayan चयन गरेर खल्ती वा इसेवाबाट भोट गर्न सकिने छ। सम्पूर्ण शुभेच्छुकलाई भोट रूपी आशिर्वाद दिन रायनले सार्वजनिक अपिल गरेका छन्।
